२२ बैशाख २०८१, शनिबार

सुनुवाइ समितिद्वारा प्रस्तावित तीन राजदूतको नाम अनुमोदन


डा. शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्री

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित ३ जना नेपाली राजदूतको नाम अनुमोदन गरेको छ ।

सरकारले भारतका लागि डा. शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसद्मा पठाएकोमा सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि उनीहरुको नाम आज सर्वसम्मतले अनुमोदन भएको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोंच र अवधारणा प्रस्तुत गरेकोमा संसदीय समितिलाई चित्त बुझेकोले उनीहरुको नाम अनुमोदन भएको हो ।

समितिको आजको बैठकले उनीहरुको आ-आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएको जानकारी दिए ।

यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समाबेशीताको प्रश्न उठाएर उजुरी गर्ने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो ।

उनीहरु तीनै जनाको संसदीय सुनुवाइका लागि यसअघि बोलाइएको बैठक आवश्यक गणपूरक सङ्ख्या न्यून भएपछि स्थगन भएको थियो । ती मुलुकमा यसअघि रहेका राजदूत नीलाम्बर आचार्य, डा युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहदैआएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !