१६ आश्विन २०८१, बुधबार

प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै हुँदैन् : डा. थापा


da.thapa

१९ चैत, काठमाण्डौ । नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका संयोजक एवम् पूर्व राजदुत डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने स्पष्ट पारेका छन् । थापाले प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी हुने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वराजदुत थापाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले अघि सारेको प्राथमिकताकै आधारमा आन्तरिक तथा बाहृय सम्बन्धहरु अघि बढ्नेमा आफू विश्वस्त रहेको सुनाए ।

उनले भने,‘अहिलेको सरकारको मुख्य फोकस नै राष्ट्रियतालाई बलियो बनाउने, राष्ट्रिय स्वार्थलाई अघि बढाउने र जनतालाई समृद्धि दिने नै हो, सम्वाद गर्दा यीनै कुरामा ध्यान दिनुपर्छ ।’

थापाले भ्रमणमा नयाँ सम्झौता गर्नुभन्दापनि भएका सम्झौताहरु कार्यान्यवनमा जोड र आर्थिक समृद्धि हाँसिल गर्ने विषयमा केन्द्रित रहेर कुरा गर्न सुझाव समेत दिएका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा निर्वाचन सम्पन्न भएसँगै स्थायी प्रकृतिको सरकार बनेको सुनाए ।

उनले भने,‘अहिले वातावरण फेरिएको छ, चुनापछि भारत र स्वयम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालका तीन जना नेतालाई फोन गरेर बधाई दिनुभयो, यसले पनि के देखाउँछ भने अहिले वातावरण फेरिएको छ ।’
थापाले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा आफू पूर्ण विश्स्त रहेको बताए । उनले भने,‘ऋषिजी तपाई ढुक्क हुनुहोस्, प्रधानमन्त्री ओलीजीको भारत भ्रमण सफल हुन्छ ।’

नेपालमा विगतदेखि नै सरकारले धेरै कुराहरु कबुल गरेको तर लागु गर्न नसक्दा जनतामा निराशा छाएको उनको टिप्पणी थियो । उनले भने,‘अहिलेपनि धेरै आन्तरिक तथा बाहृय चूनौतिहरु छन्, सबै कुराहरुलाई सुझबुझका साथ अघि बढाउनुपर्छ, सरकारले ६ वटा प्राथमिकताहरु सार्वजनिक गरिसकेको छ, अब कार्यान्वयनमा जोड दिनुपर्छ ।’

उनले नेपालको शासन पद्धतिमा कसैबाट पनि प्रभाव वा आघात पार्ने व्यवहार नेपालीहरुलाई स्विकार्य नभएको बताए । ‘अबको एजेण्डा भनेको आर्थिक समृद्धि नै हो, राष्ट्रियताको संरक्षण एवम् प्रर्वद्धन गर्दै हामी यही बाटोमा अघि बढ्न सक्नुपर्छ।’–उनले थपे ।

भारतसँग आजभन्दा करिब १८ वर्षअघि पञ्चेश्वर आयोजनामा हस्ताक्षर भएपनि अहिलेसम्म त्यो अगाडि नबढ्नु दुःखदायी कुरा भएको उनको गुनासो थियो । ‘अहिले त भनेर भन्दा पनि गरेर देखाउने बेला आएको छ।’–थापाले थपे ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरा उठ्छ त भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले यो विषय भ्रमणसँग सम्बन्धित नरहेको स्पष्ट पारे । थापाले नेपालले अब संविधान र संविधान कार्यान्वयनले देखाएको बाटो हिँड्ने बताउँदै मुलुकको हितको लागि आपसी समझदारी अनिवार्य रहेको बताए ।

भारतसँग भएको १९५० को सन्धिबारे अहिलेसम्म गहिरिएर र करेक्सन गर्नेबारे गृहकार्य नभएको गुनासो पोख्दै उनले भने,‘तर अहिले यो विषयले हाई–लेभलमा प्रवेश पाएको छ, यसलाई समसामयिक बनाउन र विगतमा भएका तित्तता कम गर्नेगरि हामीले होमवर्क गरिरहेका छा ैं।’ ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !