११ श्रावण २०८१, शुक्रबार

नीति तथा कार्यक्रम कार्यान्वयन हुँदैन : कांग्रेस


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘म्यादी सरकार’ ले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने प्रतिक्रिया दिएको छ। नीति तथा कार्यक्रम कार्यान्वयन हुने कुनै आधार, सिद्धान्त र नीति नभएको भन्दै कांग्रेसले ‘१ घन्टा ३० मिनेट लामो हुनु नै यसको महत्वपूर्ण उपलब्धि’ भएको जनाएको छ।
संसदभवनबाट बाहिरिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार नै अस्थायी प्रकृतिको भएकाले नीति तथा कार्यक्रम कार्यान्वयनमा नआउने प्रतिक्रिया दिएको छ। ‘म्यादी सरकारले ल्याएको कार्यक्रम कार्यान्वयन हुने कुरै भएन,’ देउवाले सञ्चारकर्मीसँग भने, ‘बजेट कार्यान्वयनमा क्षमता घटिरहेका बेला कार्यान्वयन हुनै नसक्ने गरी कार्यक्रम आएको छ।’

मन्त्रीहरूबाटै एउटा सरकारले बजेट ल्याउने अनि अर्काे सरकारले कार्यान्वयन गर्ने सहमति भएको धारणा सार्वजनिक भइरहेको भन्दै देउवाले नीति तथा कार्यक्रम कार्यान्वयनको सम्भावना नरहेको बताए।

नयाँ प्रतिकूलता थपिएको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विपक्षीले शंका व्यक्त गरेका हुन्। सत्ता र विपक्षीबीच बढ्दो दुरी, छिमेकीसँग बिग्रेको सम्बन्धले यसपटकको सरकारको नीति तथा कार्यक्रम पहिलेजति पनि कार्यान्वयन नहुने उनीहरूको ठोकुवा छ।

कार्यान्वयन गर्ने निकायको कमजोर संस्थागत संरचना, कर्मचारीको कामचोर प्रवृत्ति, जवाफदेहिता अभावका कारण यसअघिदेखि नै नीति तथा कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन्। सरकारले एक वर्षभित्र के गरिनेछ भन्दा पनि लामो समयको योजना ल्याएर जनतालाई गुमराहमा राख्न खोजेको आरोप उनीहरूले लगाएका छन्।

भूकम्प र नाकाबन्दीबाट पीडित जनताले तत्कालका समस्याको सम्बोधन खोजेको भन्दै कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले अहिले भइरहेको संस्थालाई संस्थागत गरेर काम गर्नुभन्दा पनि नयाँ संरचनमा जाने विषयमा जोड दिइएको बताए। ‘तत्काल समस्या समाधान खोजेका जनतालाई त्यसले केही दिन सकेको छैन, दीर्घकालमा यस्तो–उस्तो हुनेछ मात्रै भनिएको छ,’ महतले भने, ‘यसको उपलब्धि भनेको १ घन्टा ३० मिनेट लामो हुनु हो।’

कार्यक्रमको फेहरिस्त लामो भए पनि कार्यान्वयनको आधार, सिद्धान्त र नीति केही नभएको उनले बताए। ‘भएको संरचनालाई मजबुत बनाएर कार्यान्वयनमा लैजानेभन्दा पनि नयाँ संरचना बनाउने विषयमा बढी जोड दिइएको छ,’ महतले भने, ‘नयाँ संरचनामा आफ्ना कार्यकर्ता भर्ना गरेर रोजगारी दिन सकिएला तर जनताले केही प्राप्त गर्ने छैनन्।’

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएको संघीय सामाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारका गतिविधि र नीति तथा कार्यक्रममा पञ्चायती आत्मा झल्केको बताए।

‘पञ्चायतकालमा जनतालाई अधिकारबाट वञ्चित गर्ने, राष्ट्रवादको चर्को नारा लगाउने र कार्यान्वयनमा ल्याउन नसकिने कार्यक्रम घोषणा हुन्थ्यो,’ श्रेष्ठले नागरिकसँग भने, ‘अहिलेको कार्यक्रममा पनि त्यही प्रेतात्मा छ र त्यसैअनुसार कार्यक्रम आएका छन्।’

मधेसमा जारी तनाब, सत्तापक्ष र प्रतिपक्षी दलबीच बढेको तिक्तताकै बीच सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

नेकपा संयुक्तका अध्यक्ष गणेश साहले आन्तरिक र छिमेकी देशसँग तनाब बढेको समयमा कार्यक्रम ल्याइएको बताए।

‘कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नहुने पञ्चायत कालदेखिको समस्या हो, बहुदल आएपछि कार्यक्रम यथार्थपरक हुनुपर्ने हो, त्यस्तो भएको छैन,’ साहले सञ्चारकर्मीसँग भने, ‘पुराना समस्या ज्युँका त्युँ छन्। अहिले आन्तरिक र छिमेकीसँग तनाब झनै बढेको छ। यो कार्यक्रम कसरी कार्यान्वयन हुन सक्छ?’ अहिलेको कार्यक्रम पनि २० प्रतिशत कार्यान्वयन भए ठूलो उपलब्धि हुने उनले बताए। ‘महत्वाकांक्षी र ठूलो कार्यक्रम घोषणा गरेर जनतालाई गुमराहमा पार्न खोजिएको छ। यसले जनतामा निराशा बढाउँछ,’ साहले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !