९ जेष्ठ २०८१, बुधबार

मन्त्रालय र मन्त्री छनोटका लागि सत्ता गठबन्धनका नेताहरु गोप्य छलफलमा


पाँचदलीय गठबन्धन फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरु मन्त्रालय र मन्त्री छनोटका लागि गोप्य छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुलाई मन्त्रालय र मन्त्री छनोटको जिम्मेवारी दिएका छन् ।

आज बिहीबार विहान नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरु बसेर पावर सेयरिङ मिलाउन आग्रह गरेका छन् ।

पावर सेयरिङ मिलाउनका लागि काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईबीच गोप्य वार्ता जारी रहेको छ ।

नयाँ बानेश्वर एरियामा गठबन्धनका नेताहरुबीच गोप्य वार्ता भइरहेको बालुवाटार स्रोतले बताएको छ । पावर सेयरिङमा उनीहरुबीच सहमति भए आजै मन्त्रिपरिषद विस्तार हुने स्रोतको भनाइ छ ।

प्रमुख सत्तारुध दल काँग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्रले ७ मन्त्रालय र जसपाले ६ मन्त्रालय पाउनुपर्ने दावी राख्दै आएको छ ।

नेकपा एमालेका नेपाल समूहले आफूहरु तत्कालको लागि सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएको बैठकमा नेपाल समूहबाट सहभागी भएका विजय पौडेलले बताएका थिए ।

स्रोतका अनुसार अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । यद्यपि एमालेका वरिष्ठ नेता माधव नेपालले केही दिन आफ्नो पक्षमा नाममा मन्त्रालय बाँकी राखिदिन आग्रह गरेकाले पनि अन्य ३ दलबीच पावर सेयरिङमा जटिलता सिर्जना भएको छ ।

स्रोतका अनुसार नेपाल पक्षलाई कत्तिमा ६ मन्त्रालय छोड्नुपर्ने परिस्थिति अवस्थामा भएकोले कसरी पावर सेयरिङ मिलाउने भन्नेमा काँग्रेस, माओवादी र जसपामा सकस उत्पन्न भएको हो । सवै सत्तापक्ष पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै देखिएपछि नेताहरु गोप्य रुपमा बैठक बसेर मन्त्रालय र मन्त्रीको टुंगो लगाउन जुटेको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !