११ श्रावण २०८१, शुक्रबार

लोकतन्त्रको रक्षाका लागि संवैधानिक र राजनीतिक आन्दोलन जारी राख्छौं : विपक्षी गठबन्धन


देउवा, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौँ । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेकोले लोकतन्त्र र संविधानको रक्षाको लागि संवैधानिक र राजनीतिक लडाइँलाई जारी राख्ने बताएको छ ।

सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकहरुसँग आज दिउँसो संसद भवन नयाँ बानेश्वरको हलमा सम्पादकसँगकाे अन्तक्रिर्या कार्यक्रममा विपक्षी नेताहरूले सरकारले संविधानमाथि लगातार धावा बोलेकाले आफूहरू संघर्षमा उत्रिनुपरेको स्पष्ट पारेका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको मिलोमतोबाट मध्यरातमा असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभाको विघटनले लोकतन्त्र माथि नै खतरा उत्पन्न गरेको बताएका छन् ।

उनले संविधानसभाले निर्माण गरी जारी नेपालको संविधान आज प्रधानमन्त्री ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा परेको बताए । उनले असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीले दुई-दुई पटक प्रतिनिधिसभाको विघटन, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने गरेर मुलुकलाई संकटमा धकेल्न काम गरेको आरोप लगाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली भन्दा अहिले नेपाली काँग्रेस सयौं गुणा बढी वामपन्थी भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीसँग भएको फोनवार्ताको प्रसंग कोट्याउदै कांग्रेस ओली भन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आएको बताए ।

प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर ५ जना पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिएका छन् । उनले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल गरेको बताएका हुन् ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले गल्ती सुधारेर आए ठाउँ दिन सकिने बताएका छन् । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका हुन् ।

उनले ओलीको अहंकारले अहिलेको परिस्थिति सिर्जना भएको बताउदै ओली दक्षिणपन्थी बाटोमा रहेको समेत स्पष्ट पारे । उनले ओलीले कोर्स करेक्सन गर्नुपर्ने बताएका हुन् । उनले प्रतिनिधि सभा विघटन बदर हुनुपर्ने पनि बताए । आफूहरु देशमा रहेका सबै सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २/२ पटक विघटन गरेकोले आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए । उनले राजा ज्ञानेन्द्रको सिको सिकेर अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको बताएका छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अहिलेको प्रतिनिधिसभा विघटन फरक खालको भएको र विघटनका पछाडि विदेशी शक्तिको हात रहेको उनले आरोप लगाए ।

यो पनि पढ्नुहोस्

केपी ओली भन्दा काँग्रेस सयौं गुणा बढी वामपन्थी : प्रचण्ड

देउवालाई नेपालले भने- ओलीले गल्ती सुधारेर आए स्वागत गर्नुपर्छ है शेरबहादुरजी

राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमाथि नै खतरा उत्पन्न भयो : सभापति देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !