१८ पुस २०८१, बिहीबार

अन्तत: प्रधानमन्त्री ओलीलाई महन्त ठाकुरले दिन लागे यतिसम्म ठूलो धोका

आफ्नै नेतृत्वमा सरकार बनाउन जसपामा सहमति


केपी ओली र महन्त ठाकुर फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्त ठाकुरले अन्तिममा आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो धोका दिनसक्ने संकेत देखिएको छ । विगत केहि महिना अघिदेखि ओली र ठाकुरवीच मिलेर सत्ता समीकरण गर्ने बारेमा बढेको मायापिरतीको सम्वन्ध अव डिभोर्सउन्मुख पुग्ने लक्षण देखिएको छ ।

नयाँ सरकार गठनका लागि तालाचावी बोकेर बसेको निर्णायक शक्ति जसपाले आफ्नै नेतृत्वमा सरकार गठनको तयारी थालेको छ । आइतबार र सोमबार २ दिनसम्म चलेको पार्टीको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न शीर्ष नेताहरु सहमत भएका हुन् ।

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री ओली नेतृत्वको एमाले र काँग्रेस-माओवादीसँग समानान्तर छलफल चलाइरहेको जसपाले अन्तत: आफ्नै नेतृत्वमा सरकार बनाउन आन्तरिक सहमति जुटाएको हो । तर बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्नेचाहिँ जसपामा सहमति भई सकेको छैन ।

अध्यक्ष उपेन्द्र यादवका अनुसार बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बारेमा पनि छलफल भएको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रस्तावले बैठकमा प्रवेश पाएको र उक्त प्रस्तावमा सबै नेता सहमत भएको यादवले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रक्रिया सुरु गरिसकेका हुनाले तत्कालै त्यसको विरुद्ध कुनै पनि क्रियाकलाप नगर्ने भनी बैठकमा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले तर्क राखेका थिए भने ओलीले माग पूरा गरेपनि त्यसको बहिर्गमनका लागि जसपा नेपालले पहल गर्नुपर्ने अध्यक्ष यादव र संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले आ-आफ्ना तर्क राखेका थिए ।

ओलीलाई जति दिनसम्म टिकाइ राख्ने हो, लोकतन्त्रमाथि त्यति नै खतरा हुने भट्टराई-यादव पक्षको दाबी थियो भने ठाकुर-महतो पक्षले लोकतन्त्रमाथि ओलीबाट मात्र होइन, अन्य दलका नेताबाट पनि खतरा रहेको दाबी गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार काँग्रेसले ओली विरुद्ध आविश्वासको प्रस्ताव ल्याउन नसकेकोले त्यसको अगुवाई जसपाले गर्ने र त्यसका लागि अन्य दलसँग सहयोग माग्ने भट्टराई-यादव पक्षको प्रस्ताव थियो ।

तर, महन्थ ठाकुरले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जसपाले पनि नसक्नुका साथै अन्य दलले त्यसमा साथ नदिने भएकोले बरु जसपाकै नेतृत्वमा सरकार गठन गर्ने आह्वान गर्दा ओली नेतृत्वको एमालेले पनि सहयोग गर्न सक्छ भन्ने तर्क बैठकमा राखेका थिए । यसमा माओवादी केन्द्र र काँग्रेसले पनि सहयोग गर्न सक्छ भन्ने ठाकुरले बैठकमा बताएका थिए ।

दुई दिनसम्म चलेको बैठक नेताहरुको कार्य व्यस्तताका कारण फेरी बस्ने गरी स्थगित भएको छ । अध्यक्ष ठाकुर उपत्यका बाहिर गएका कारण बैठक स्थगित भएको र केही दिनमै बैठक बसेर थप निष्कर्ष निकालिने भएको छ ।

जसपामा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव तथा अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो गरी दुई पक्षको आ-आफ्नो अडान बैठकमा पनि कायमै रहेतापनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति चाही जुटेको छ ।

भावी सत्ता समीकरणलाई लिएर पार्टीभित्रैबाट फरक-फरक धारणा आइरहेका बेला अन्तत: आफ्नै नेतृत्वमा सरकार बनाउन जसपाका शीर्ष नेता एकमत भएका हुन् । संसदमा ३२ सिट रहेको जसपा नयाँ सरकार गठनमा निर्णायक शक्तिका रुपमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु