१४ बैशाख २०८१, शुक्रबार

किन अकस्मात् बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटे विप्लवले ?

विप्लवले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई सोधे, ‘बन्दी रिहाई र मुद्दा फिर्ता कहिले गर्ने ?’


केपी ओली र विप्लव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अकस्मात् बालुवाटार पुगेर नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भेटेका छन् । प्रधानमन्त्री ओलीले नै नेपाली राजनीतिको मूलधारमा ल्याएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लववीच शान्ति सम्झौता भएपछि भएको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

आज सोमबार विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटवार्तामा विप्लवले प्रधानमन्त्री ओलीलाई आफ्ना नेता तथा कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ ? भन्दै जिज्ञासा राखेका थिए ।

विप्लव समूहका एक नेताका अनुसार सरकार र विप्लववीच वार्तामा भएर सहमति भईसकेतापनि उक्त समूहमाथि लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया शुरु नभएपछि शशंकित भएको उक्त समूह प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएको बुझिएको छ ।

गत फागुन २० गते सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा प्रधानमन्त्री ओलीले बन्दी रिहा र मुद्दा फिर्ताको प्रक्रियामै रहेकाले केही दिन पर्खिन आग्रह गरेको बुझिएको छ । ओली र विप्लववीच झण्डै १ घण्टा बन्दी रिहा, मुद्दा फिर्ता सहित अन्य राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !