१२ बैशाख २०८१, बुधबार

नेपाल भन्छन्, ‘ओलीसँग ४८-४९ वर्षको माया पिरती छ, एकै रातमा सकिन्न’


माधव नेपाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्नो पार्टीका अध्यक्ष केपी ओलीसँग आफ्नो ‘मायापिरती’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नछुट्टिने वा नतोडिने बताए ।

काठमाडौंमा आज शनिवार आफू निकट युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै नेपालले आफूहरूको ४८-४९ वर्षको माया पिरती एक रातमै नसकिने उनले बताए । लामो समय ओलीको आलोचनामा खर्चिएतापनि ओलीसँग छुट्टिएर जाने पक्षमा नरहेको बताएका छन् ।

‘हामी सँगै जाने पक्षमा छौं । केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं । त्यत्रो लामो समयको माया पिरती कहाँ एक रातमा सकिन्छ । केपी ओलीसँगको मेरो माया पिरती ४८-४९ वर्षको भइसक्यो थाहा छ ? तपाईंहरू ४८ वर्ष पुग्नु भएकै छैन होला ४० भन्दा कमै होला,’ उनले भने ।

नेपालले ओलीले वैठकका लागि फोन गरेको सन्दर्भ पुन: कोट्याउदै आफू भएको भए फोन गर्नेभन्दा निवासमै पुगेर फकाउने उनको भनाइ थियो । ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेड रुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन’ नेपालले भने ।

आफूहरु अहिले पनि अध्यक्ष ओली सुध्रिउन् भन्ने पक्षमा रहेका नेता नेपालले बताए । ‘अहिले पनि केपी कमरेडलाई मेरो प्रस्ताव हो, नयाँ ढंगबाट जाऊँ, एकताको बाटोमा अगाडि बढौं,’ उनले भने, ‘त्यसका निम्ति २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठक अवैध भएकाले फिर्ता लिनुस् ।’

तर अध्यक्ष ओली २८ फागुनमा गरेको ‘अवैधानिक’ निर्णय सच्याउन तयार नभएको उनले बताए । शनिबार मात्र अध्यक्ष ओलीले एमाले केन्द्रीय कमिटीको १२औं बैठक बोलाएको भन्दै वरिष्ठ नेता नेपालले भने, ‘एमालेको अन्तिम बैठक ९ नम्बर हो । दुईवटा बैठक कहाँ गयो अत्तोपत्तो छैन । तेस्रो बैठकमा लुरुलुरु बालुवाटार जान्छौं ? जाँदैनौ । हामी स्वाभिमानी मान्छे हौं ।’

यद्यपि (२३ फागुन यता भएका निर्णय) गल्ती सच्याए सँगसँगै जान तयार रहेको उनले बताए । उनले केपी ओलीले गोर्खा भर्तीमा खुल्दा मान्छेहरू बाटोबाट टिपे जसरी केन्द्रीय कमिटीको सदस्यहरू राखेको बताए।

‘गोर्खा भर्ती खोल्दाखेरी के हुन्छ ? बाटाबाटामा मान्छे खोज्छन्। त्यस्तै यहाँ टिकट लिइकन केन्द्रीय सदस्य बन्न आओ भनेर डमरू बजाएर खोजिराख्या छन्। त्यो केन्द्रीय कमिटी हो? त्यो पार्टी हो? हाम्रो लडाइँ के हो भन्दा पार्टीलाई पार्टीको रूपमा अघि बढौं। विधानको आधारमा अघि बढौं,’उनले भने,’ विधानले के भन्छ भने प्रत्येक व्यक्ति पार्टीको कमिटीको मातहतमा हुन्छ । अध्यक्ष होस् वा कुनै पनि पदाधिकारी होस्। ऊ कमिटीको मातहतमा हुन्छ संगठनको मातहतमा हुन्छ। पहिलो सिद्धान्त । केपी कमरेडले त्यो सिद्धान्त मान्नुहुन्छ कि मान्नु हुन्न। प्रश्न त्यो हो।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !