२० बैशाख २०८१, बिहिबार

राष्ट्रपतिको सक्रियताप्रति सत्ता गठबन्धन सशंकित


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । नागरिकता विधेयक प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएका पछिल्ला गतिविधिप्रति सत्तारूढ गठबन्धनका नेताहरू संशकित भएका छन् । यसबाट राष्ट्रपति र सत्तारूढ गठबन्धनबीच संशयको स्थिति पैदा भएको छ ।

गठबन्धन दलको बिहीबार बिहान बसेको बैठकमा नेताहरूले राष्ट्रपतिका गतिविधिप्रति आशंका व्यक्त गरेका थिए । राष्ट्रपतिले सेना प्रमुख तथा सुरक्षा निकायका अधिकारीहरूसँग गरेको छलफलप्रति उनीहरूको चासो थियो । स्रोतका अनुसार नागरिकता विधेयक प्रकरणमा राष्ट्रपतिको पछिल्लो गतिविधि अस्वाभाविक रहेको निष्कर्ष पनि गठबन्धन दलका नेताहरूले निकालेका छन् ।

बैठकको सुरुमै राष्ट्रपतिको गतिविधिप्रति जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चासो राखेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि यादवको भनाइप्रति सहमति जनाएका थिए। राष्ट्रपतिबाट भएका कदमले राजनीतिक रूपमा के सन्देश दिन खोजेको हो भनी प्रश्न गर्दै उनले भने, ‘राष्ट्रपतिबाट भइरहेका पछिल्ला गतिवधिहरू स्वाभाविक छैनन् ।

बैठकमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति सैनिक अधिकारीहरूसँग गरेको भेटघाटले शंका उत्पन्न भएको बताए। स्रोतका अनुसार बैठकमा सहभागी शीर्ष नेताहरूले राष्ट्रपतिको सम्भावित गतिविधि तथा कदमप्रति बुझ्न देउवालाई आग्रह गरेका थिए । देउवाले पनि राष्ट्रपतिको कदम स्वाभाविक नभएको प्रतिक्रिया जनाएको स्रोतको दाबी छ ।

बैठकपछि बिहीबार दिउँसो गरिएको नेकपा एसको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रपतिको भेटघाटले राजनीतिमा शंका उत्पन्न गराएको बताए । ‘राष्ट्रपतिबाट जुन किसिमबाट पूर्वसैनिक अधिकारीहरूलाई बोलाएर निवासमा भोज, डिनर दिने काम भइरहेका छन् । यसले राजनीतिमा विभिन्न किसिमका शंका जन्माएको छ,’ नेपालले भने, ‘राष्ट्रिय राजनीतिका यी सबै पक्षलाई हामीले निगरानी गरिरहेका छौं ।’ यो समाचार नागरिक दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !