१३ पुस २०८१, शनिबार

स्थानीय तह निर्वाचन : चार गुणा बढी उम्मेदवारी


सिर्जना सिंह

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ ।

देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ५ सय ९८ जनाको उम्मेदवारी परेको हो । मंगलबार रातिसम्म पनि निर्वाचन आयोगले उम्मेदवारको विवरण रुजु गर्ने कार्य जारी राखेको थियो ।

निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म नगर प्रमुखमा ३ हजार ४ सय ६६ जना र उपप्रमुखमा २ हजार १ सय ३६ जनाको उम्मेदवारी रुजु भएको छ । यसैगरी अध्यक्षमा ३ हजार ३ सय ७८ जना र उपाध्यक्षमा २ हजार ३ सय ९२ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

यसैगरी ६ हजार ७ सय ४३ वडाको वडा अध्यक्ष पदका लागि ३४ हजार ९ सय ५८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले बताएको छ ।

यस्तै, महिला सदस्यमा २६ हजार ८४, दलित महिला सदस्यमा २३ हजार ४ सय ८२ र सदस्यमा ५४ हजार ७ सय २ जनाको उम्मेदवारी परेको आयोगले भनेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी सदस्य पदमा परेको जानकारी दिए ।

सबैभन्दा बढी उम्मेदवारी सदस्य पदमा परेको छ, सदस्यमा मात्रै ५४ हजारभन्दा बढीको उम्मेदवारी परेको छ,’ निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

३० वैशाखमा हुने निर्वाचनमार्फत १५ सय ६ जना प्रमुख तथा उपप्रमुख, ६ हजार ७ सय ४३ वडामा वडा अध्यक्ष र ती वडाका २६ हजार ९ सय ७२ सदस्य चयन हुनेछन् । यी सबै गरी स्थानीय तहमा मात्रै ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुनेछन् ।

निर्वाचन कार्यक्रमअनुसार आयोगले १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम राखेको थियो । तर, कतिपय जिल्लामा उम्मेदवारी दिन र रुजु गर्ने कार्य नै ढिला हुँदा आयोगले आन्तरिक रूपमा व्यवस्थापन गर्ने गरी आज बुधबार १० बजेसम्म पनि उम्मेदवारको मनोनयनमा उजुरी लिने बताएको छ ।

यसैगरी बुधबार र बिहीबार मनोनयनपत्र र उजुरी जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, बिहीबार नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !