१२ असार २०८१, बुधबार

कोरोनामा मौका छोप्दै अवसरवादी कालो ढुसी सक्रिय


कालो ढुसी

काठमाडौं । कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ । फंगसले निम्त्याउने कालो ढुसी (म्युकरमाइकोसिस) बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ । कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले संक्रमितमध्ये केहीको ज्यान गएको र केही उपचाररत रहेको बताए। कालो ढुसीको संक्रमणले नाक, आँखा र मस्तिष्कमा क्षति पुर्‍याउने चिकित्सक बताउँछन् ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार झन्डै एक दर्जन व्यक्तिमा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। जसमध्ये सीमावर्ती नेपालगन्जमा तीन र वीरगन्जमा दुई जनामा पुष्टि भएको छ । काठमाडौंमा तीनवटा अस्पतालमा केही संक्रमितको उपचार भइरहेको छ ।

भारतमा ब्ल्याक, ह्वाइट र येलो फंगसका संक्रमित बढ्दै गएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । जसमध्ये ब्ल्याक फंगस भनिने कालो ढुसीको संक्रमण सीमापारि उत्तर प्रदेश र सीमावर्ती बाँके, पर्सालगायत जिल्लामा बढ्दो छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार फंगसहरू अवसरवादी हुन्छन् । रोग प्रतिरोध क्षमता कमजोर भएका र लामो समय औषधि सेवन गरेका व्यक्तिमा संक्रमण गर्छन् । स्टेरोइड (अक्सिज लेभल घटेको बेला दिइने औषधि) सेवन गरेका र दीर्घ रोगीमा संक्रमण गर्ने सम्भावना बढी हुन्छ।

एक खालको अवसरवादी फंगसका कारण कालो ढुसी (म्युकरमाइकोसिस)को संक्रमण भएको डा. पौडेलले बताए । उनले भने, ‘ठ्याक्कै तथ्यांक प्राप्त भइसकेको छैन। नेपालगन्ज, वीरगन्ज र काठमाडौंमा गरी १०-१२ जनालाई संक्रमण भएको छ।’

भारतसँगका सीमावर्ती वीरगञ्ज र नेपालगन्जमा संक्रमण विस्तार भइरहेको चिकित्सकले जानकारी दिएका छन्। कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा. डा. ढुण्डिराज पौडेलका अनुसार ४५ देखि ६५ वर्ष उमेर समूहका दीर्घरोगीलाई संक्रमणको जोखिम हुने गरेको छ।

मधुमेह (डायबिटिज)का बिरामीका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा कालो ढुसीको संक्रमण बढी पाइएको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। ‘रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा अचानक नाक दुख्ने, नाकबाट सिंगान बग्ने, आँखा दुख्ने, आँखा सुन्निन थालेको छ भने एक्युट इन्भेजिभ साइनेसाइटिस हुनसक्छ। कालो ढुसी (म्युकरमाइकोसिस)को संक्रमणले गर्दा पनि यस खालको समस्या देखिन्छ’, डा. पौडेलले भने।

शरीरका विभिन्न अंग कुहाउने संक्रमणलाई यल्लो फंगस भनिने डा. ढुण्डिराज पौडेलको भनाइ छ। यस खालको समस्या भएका संक्रमित उत्तर भारतमा छन्। ‘यल्लो फंगसको संक्रमणले शरीरका अंगप्रत्यंग कुहाउँछ’ डा. पौडेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘कोरोना संक्रमणपछि नेपालमा देखिएको कालो ढुसी (म्युकरमाइकोसिस) हो। यसलाई ब्ल्याक फंगस भनिन्छ।’

ब्ल्याक फंगस, ह्वाइट फंगस र येलो फंगसको विशिष्टीकरण गरी छुट्याउन कल्चर गर्नुपर्ने हुन्छ। ‘यो कल्चरको रिपोर्ट प्राप्त गर्न दुई–तीन साता पनि लाग्न सक्छ। वायोप्सी पनि गर्नुपर्ने हुन्छ’, डा. पौडेलले भने, ‘फंगसको संक्रमण हुने बित्तिकै एम्फोटेरिसिन बी औषधि चलाइहाल्नुपर्छ। यो पनि दुई खालको औषधि हुन्छ। जसमध्ये मिर्गौला बचाउने खालको औषधि प्रयोग गर्नुपर्छ।’

कालो ढुसी (म्युकरमाइकोसिस) संक्रमितको उपचारमा उपयोग गरिने ‘एम्फोटेरिसिन बी’को अभाव हुन थालेको छ। यो औषधि कालाजारका बिरामीमा पनि प्रयोग हुने गरेको थियो। मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार, यसैसाता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले औषधि नेपालमा पठाउन थालेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !