८ पुस २०८१, सोमबार

कोरोना सक्रिय संक्रमित २५ हजार नाघे : के अव होला त लकडाउन ?


कोरोना

काठमाडौँ, असोज २२ । देशमा कोरोना सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार एकै दिन हालसम्मकै धेरै ३४३९ जनामा कोभिड देखिएको हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सक्रिय संक्रमित २५००७ पुगेका छन् । गत असोज ७ गते बसेको मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठकले सक्रिय संक्रमित २५ हजार नाघे स्थिति अत्यन्त जोखिमपूर्ण हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गरेको थियो ।

मुलुकमा देखिएको संक्रमण दर यस्तै रहे दुई/तीन दिनमै संक्रमित संख्या एक लाख पुग्ने विज्ञहरूले अनुमान गरेका छन् । हाल काठमाडौं उपत्यकामा संक्रमण संख्या र दर तीव्र देखिएको छ । बुधबारसम्म संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेकामा ३३ हजार ७ सय ५१ जना अर्थात् ३५.८० प्रतिशत काठमाडौं उपत्यकाका हुन् । देशभरको तुलनामा करिब २९ प्रतिशत अर्थात् २७ हजार ३ सय २ संक्रमित काठमाडौं जिल्लाका मात्रै छन् ।

पछिल्लो केही सातायता मुलुकमा दिनहुँ देखिने संक्रमितको आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । तीमध्ये ५ देखि ७ प्रतिशतको मात्र ‘ट्राभल हिस्ट्री’ छ । पीसीआर परीक्षण गरिएकामध्ये संक्रमणको दर ८.४६ प्रतिशत छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले अब उच्च रूपमा स्वास्थ्य सतर्कता अपनाउन सुझाएका छन् । उनका अनुसार उपत्यकामा समुदायमा संक्रमण गइसकेको प्राथमिक अवस्था छ । संक्रमण समुदायमा कस्तो अवस्थामा छ भन्ने कुरा प्रिभिलेन्स सर्भेको नतिजाले स्पष्ट पार्ने उनले बताए । हालसम्म यो सर्भे सुरु भएको छैन ।

देशभरका प्रयोगशालामा प्रमाणित कोभिड देखिएकामध्ये बुधबार दिउँसोसम्म ५ सय ७८ जनाको मृत्यु भएको छ । कुल संक्रमितका आधारमा ०.६१ प्रतिशत मृत्यृदर हुन आउँछ । यसअघि मृत्युदर ०.६५ प्रतिशत थियो ।

यसैबीच सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं उपत्यकामा संक्रमण व्यापक बढिरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । मन्त्रिपरिषद्ले असोज १९ मा गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सबैलाई सचेत रहन आग्रह गरेका हुन् ।

विभिन्न सेवा प्रवाह गर्दा, लिँदा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । प्रदर्शन वा अन्य गतिविधि गर्दा पनि उनले उच्च सतर्कता अपनाउन आग्रह गरे । ज्येष्ठ नागरिक कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले चाडबाडमा विशेष ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।

चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना रहेको उनले बताए । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै उनले यसपालि टाढैबाट आशीर्वाद लिँदा उपयुक्त हुने बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !