८ बैशाख २०८१, शनिबार

पोखरामा सिटी रेबान फुड फेस्टिबल जारी, देवीघर्ती सँगै नाचे दर्शक


असोज ५, पोखरा | नयाँबजारको प्रदर्शनी केन्द्रमा सोमबारदेखि जारी छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलमा बुधबार ७लाख बढीको कारोवार भएको छ । करिब ८ हजार दर्शकले मेलाको अवलोकन गरेको कार्यवाहक अध्यक्ष दीपक तीमिल्सेनाले जानकारी दिए । ‘हरेक दिन अवलोकनकर्ताहरुको संख्या बढ्दो छ । दसैंको अवसरमा हूने सार्वजनीक बिदा पछि यो संख्या अझै बढ्नेमा हामी विश्वस्त छौं ’ उनले भने ।

१ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा व्यावसायिक प्रयोजनका ९५, रेस्टुरेन्टका १०, सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २० गरी १ सय २५ स्टल रहेका छन् । महोत्सवमा बुधबार लोकगायीका देवीघर्ती मगरसँगै दर्शकहरु नाचे । दर्शकहरुको मनोरञ्जनका लागी पुरानादेखी नयाँ गीतहरु उनले प्रस्तुत गरिन् ।

बिहीबार चर्चित लोकगायक रामजी खाँड लगायत अन्य कलाकारको प्रस्तुती रहेको महासचिव जीवन दाहालले जनाए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको दैनिकरुपमा प्रस्तुति, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणी एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दसैंको अवसरमा च्यांग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहेको छ। पहिलोपटक महोत्सवमा भाले छोप्ने र ढिँडो खाने प्रतियोगिता समावेश छन् ।

करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने अनुमान छ । बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रवद्र्धनका लागि, ५ प्रतिशत दैवी प्रकोपका लागि र ५ प्रतिशत असहाय बालबालिकाका लागि खर्चिने जानकारी दिइएको छ । महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । विद्यार्थी, अशक्त, वृद्धवृद्धा, बालबालिकाका लागि परिचयपत्रको आधारमा छुटसहित ४५ रुपैयाँ कायम गरिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !