२१ पुस २०८१, आइतबार

राहत वितरणमा एकद्वार प्रणाली लागू


गलेश्वर, २० चैत । म्याग्दीमा लकडाउनका कारण समस्यामा परेका मजदूर तथा विपन्न परिवारलाई आफूखुसी राहत वितरण गर्न रोक लगाइएको छ ।

जिल्ला स्तरीय आपूर्ति अनुगमन समितिको मंगलबार बेनीमा बसेको वैठकले विभिन्न सङ्घसंस्था र व्यक्तिले आफूखुसी राहत वितरण गर्ने कार्यलाई रोक लगाउँदै स्थानीय तहमार्फत एकद्वार प्रणाली अपनाएर मात्र वितरण गर्न पाउने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस नियन्त्रण र सम्भावित जोखिमसँग जुध्नका लागि भैरहेका प्रयासअन्तर्गत राहतका कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने निर्णय गरेसँगै म्याग्दीका स्थानीय तहले पनि राहत सङ्कलन र वितरणको कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

बैठकले जिल्लाका स्थानीय तहमा स्थापना गरिएका कोष, राहत सङ्कलन र वितरणको काम रोकी एकद्वार प्रणालीमा आउन आग्रह गरेको हो । कसैले राहत वितरण वा सहयोग गर्न चाहेमा स्थानीय तहलाई बुझाउनुपर्ने र स्थानीय तहले उक्त सहयोगलाई आवश्यकता अनुसार वितरण गर्ने वैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

लकडाउनका कारण समस्यामा परेका नागरिकलाई वितरण गरिने राहतलाई व्यवस्थित गर्न बैठकले एकद्वार प्रणाली अपनाइएको प्रजिअ ढकालको भनाइ छ । विभिन्न सङ्घसंस्था र व्यक्तिले राहत वितरण गर्न चाहेमा उक्त राहतलाई नगरपालिका वा गाउँपालिकामा बुझाउनुपर्ने हुन्छ । त्यसरी प्राप्त भएको राहतलाई आवश्यकता अनुसार स्थानीय तहले प्रभावित परिवारलाई बुझाउँने छ ।

यसैगरी बैठकले जिल्लामा अत्यावश्यक वस्तुहरुको मौज्दात तथा माग आपूर्तिको सम्बन्धमा स्थानीय तहले व्यवसायी र उद्योग वाणिज्य सङ्घसँग समन्वय गरी तिनदिन भित्र तथ्याङ्क सङ्कलन गर्ने र पाँच दिनभित्र प्रदेश स्तरीय समितिमा पठाउने निर्णय गरेको छ । विपत्तिको समयमा जिल्लाभरी अन्य आवश्यक वस्तुहरुको आपूर्तिलाई सन्तुलन बनाई राख्न र कालोबजारी हुन नदिन अनुगमनलाई प्रभावकारी बनाइने भएको छ ।

प्रजिअ ढकालको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभा सदस्य विनोद केसी र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, सुरक्षा निकायका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो ।

कोरोनाविरुद्ध सचेतना फैलाउन युवा समूह परिचालन
म्याग्दीका स्थानीय तहले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न गाउँगाउँमा युवा समूहलाई परिचालन गरेका छन् ।

नेपाल सरकारले कोरना रोकथामका लागि गरेका प्रयासलाई सघाउन, सरकारलाई सहयोग गर्न र सचेत नागरिकको भूमिका निर्वाह गर्न जिल्लाका ६ वटै स्थानीय तहले गाउँगाउँमा सुरक्षाकर्मी र जनप्रतिनिधिको साथमा युवा समूह समेत परिचालन गरेका हुन् ।

यसरी परिचालित गरिएका युवा समूहमा सचेत र सजग युवालाई सहभागि गराइएको छ । उनीहरुले घरघरमा पुगेर कोरोना भाइरसको रोकथामका लागि गर्न सकिने उपायहरुको बारेमा प्रशिक्षण दिने, सरकारले जारी गरेको लकडाउन हाम्रै जीवन रक्षाका लागि हो, यसलाई पालना गरौं भनेर स्थानीयवासीलाई सम्झाउने–बुझाउने, विदेशबाट आएकालाई क्वारेन्टाइनमा पठाउन सहयोग गर्नेलगायतका कामहरु गर्ने धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

धौलागिरि गाउँपालिकामा २२ जनाको युवा समूहलाई गाउँपालिकाको नाका र वडामा परिचालन गरेको उहाँले जानकारी दिनुभयो । सात वटै वडाबाट छनौट गरिएका युवालाई मंगलबार मुनामा कोरोना रोकथाम र लकडाउन कार्यान्वयनमा उनीहरुको भूमिकाका विषयमा प्रशिक्षण दिइएको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष छन्त्याल, प्रशासकीय अधिकृत गोविन्द सुनार, योजना अधिकृत कृष्ण सुवेदी, स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेल र ताकम प्रहरी चौकीका प्रमुखले प्रशिक्षण दिनुभएको थियो । उनीहरुलाई करसहित दैनिक एक हजार रुपैयाँ ज्याला समेत दिइने बताइएकोे छ । मल्कवाङ बाहेकका युवालाई मंगलबारदेखि नै नियुक्ति दिएर कार्यक्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

सरकारले चैत २६ गतेसम्मका लागि थप गरेको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न स्वयंसेवकहरुलाई नाकामा खटाउने भएको छ । ताकम, ढोरपाटन, मराङ र मल्कवाङका नाकामा स्वयंसेवक खटाइने भएको छ । गाउँपालिकाभित्र आवतजावत बन्द, भेला र जमघट रोक्नुका साथै उनीहरुले समुदायमा कोरोना फैलने कारण, लक्षण र बच्ने उपायका बारेमा सचेतना फैलाउन जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्ने भएका छन् ।

धवलागिरीमा अत्यावश्यक कामले एक वडाबाट अर्को वडामा जानका लागि वडा अध्यक्षको सिफारिस र अनुमति लिनुपर्ने निर्णय भएको छ । बाहिरबाट आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । ७ वटै वडामा पाँच÷पाँच शय्या क्षमताको मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउने निर्णय भएको छ । चैत १ गतेदेखि यता विदेशबाट आएका दुई जनालाई हालसम्म घरमै एकान्तबास बस्न लगाइएको छ ।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले पनि माइकबाट कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सूचना प्रवाह गर्न र लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको साथमा स्वयंसेवी खटाएको हो । सात जनाको समूहमा रहेको स्वयंसेवीको टोली वडाका प्रत्येकघरमा पुगेर सूचना प्रवाह गर्नुका साथै कोरोना भाइरस सम्बन्धि जिज्ञासा राख्नेलाई बुझाउने गरेका गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाका ८ वटै वडामा क्वारेन्टाइन बनाइएको छ भने जनप्रतिनिधिले सघाउने गरी स्वयंसेवक खटाएर क्वारेन्टाइनदेखि बस्ती बस्तीमा जनतालाई सरकारको निर्णयसंगै कोरोना भाइरसको जोखिम न्यूनीकरणको अभियानमा सक्रिय बनाएको छ । “स्वयंसेवकलाई गाउँपालिकाले आवश्यकता अनुसार सहयोग गर्छ, समुदायमा उहाँहरुले दिएको योगदानको उचित मूल्याङ्कन हुन्छ”, अध्यक्ष भण्डारीले बताउनुभयो ।

यस्तै, जिल्लाका मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाले पनि गाउँगाउँमा सचेतना फैलउनका लागि युवा समूह परिचालन गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !