१२ आश्विन २०८१, शनिबार

औषधिको मूल्य २२०० प्रतिशत घट्न सक्ने


medicine

काठमाडौं- सरकारले कडा रोगका औषधि सुपथ मूल्यमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय उत्पादकबाट सिधै खरिद गर्न सक्ने गरी कानुनी बाटो खोल्ने भएको छ । यस्तो औषधि डक्टरको सिफारिसमा अस्पताल फार्मेसीमार्फत् मात्र बिक्री गर्न सकिनेछ । यसो हुँदा कडा रोगको औषधि २०औं गुणासम्म सस्तो पर्ने बताइन्छ ।

नेपालमा उत्पादन हुन नसक्ने महँगा र अत्यावश्यक विदेशी औषधि विभिन्न प्रक्रिया पूरा गरेर नेपाल आउँदा २२ सय प्रतिशतसम्म महँगो हुने गरेको पाइएपछि सरकारले एक उच्चस्तरीय समिति बनाएको थियो । समितिमा अर्थ, वाणिज्य तथा आपूर्ति, उद्योग, स्वास्थ्यलगायत मन्त्रालयका उच्च अधिकारी सदस्य थिए ।

मुटु, क्यान्सर, मिर्गौलाजस्ता कडा रोगको उपचारका लागि सस्तोमा औषधि खरिदको विकल्प खोज्न तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले सार्वजनिक खरिद कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले विभिन्न विकल्प र सुझावसहितको प्रतिवेदन सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

प्रतिवेदनले अन्तर्राष्ट्रिय उत्पादकबाट नेपाल सरकारले सुपथ मूल्यमा औषधि खरिद गरी आम उपभोक्तालाई राहत हुने गरी सरकारी अस्पतालका फार्मेसीबाट बिक्री–वितरण गर्न सुझाएको छ । उच्चस्तरीय समितिले उत्पादक देशका सरकारसँग नेपाल सरकारले नै सम्झौता गरेर खरिद गरिएका औषधिमा ‘सरकारी अस्पताल प्रयोजनका लागि मात्र’ भनी उल्लेख गर्ने र अन्तर्राष्ट्रिय उत्पादन मापदण्ड अनुसार फ्याक्ट्री मूल्यमा नै नेपालमा औषधि उपलब्ध गराउन कम्पनी र कम्पनी रहेका देशसँग सम्झौता गर्न सकिने उल्लेख छ ।

देउवाले मुख्य सचिव लोकदर्शन रेग्मीलाई तत्काल प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन् । यो आधारमा यस्ता औषधि सरकारकै कुन संस्थाबाट कसरी खरिद गर्ने भन्ने विषय भने टंगो लगाउनुपर्छ ।

पूर्वस्वास्थ्यमन्त्री थापाले औषधि सरकारले सिधै खरिद गर्न सक्ने निर्णयले स्वास्थ्य क्षेत्र र उपचारमा लाग्ने व्यक्तिको खर्च उल्लेख्य रुपमा घटाउने बताए । ‘मैले सुरुमा आफैं अध्ययन गर्दा बिक्रेता र कम्पनीसँग मूल्य मागेर हेर्दा चार सयदेखि २२ सय प्रतिशतसम्म महँगो परेको भेटें,’ थापाले भने, ‘अब सरकारले कम्पनी मूल्यमै औषधि किनेर आफ्नो फार्मेसीमार्फत् बेच्न सक्छ,’ ।

थापाले यो निर्णयसँगै मुटु, क्यान्सर, मिर्गौलाजस्ता कडा रोगको उपचार खर्च आधासम्म कम हुने बताए । नेपालीको स्वास्थ्यमा हुने खर्चको ५६ प्रतिशत औषधिमा हुने गरेको तथ्यांक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !