९ आश्विन २०८१, बुधबार

एससिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी गर्ने


Nepalpatra

काठमाडौँ, १५ भदौ । सार्क चेम्बर महिला उद्यमी परिषद्, नेपाल (एससिडब्लुइसी ) सँग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यले बर्माको याङ्गुन प्रस्थान गरेको छ । बर्मास्थित नेपाली राजदूतावासको निमन्त्रणामा एससिडब्लुइसी नेपालका उपाध्यक्ष सरोजिनी शेरचनको नेतृत्वमा १६ महिला उद्यमी सम्मिलित सो टोली बर्माको याङ्गुन प्रस्थान गरेको हो ।

टोलीले याङ्गुनको पाइन ओ ओलीन शहरमा अवस्थित नेपाली दूतावासको प्राङ्गणमा शनिबारदेखि सोमबारसम्म नेपालका विभिन्न उत्पादनहरुको प्रवद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्नेछ ।

नेपाली हस्तकलाका सामग्री, महिलाहरुले प्रयाग गर्ने पोते, क्लिप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमली चप्पल, विभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरु, गाग्री, खड्कुलो जस्ता सामग्रीहरुको प्रदर्शनीमा राखिएको छ ।

त्यसैगरी टोलीले बर्माका विभिन्न शहरमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ । सार्क चेम्बर महिला उद्यमी परिषद् (एससिडब्लुइसी) नेपाल सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज मातहतको अङ्ग हो । परिषद्को सार्क मुलुकका महिला उद्यमीहरुलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ । विगत १० वर्षदेखि परिषद्ले महिला उद्यमीहरुको हितका लागि विभिन्न कदमहरु चाल्दै आएको परिषद्ले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !