१७ असार २०८१, सोमबार

मधुमेह रोगको विश्वव्यापी प्रभाव


Ram Thakuri
– राम ठकुरी

विश्व स्वास्थ्य संगठनले बताए अनुसार अहिले विश्वमा मधुमेह रोग द्रुत गतिमा बढिरहेको र झण्डै ११ जनामध्ये एकजना वयस्कलाई प्रभावित गरेको छ। एक विश्वव्यापी प्रतिवेदनमा डब्लुएचओले मधुमेहका रोगीको संख्या सन् १९८० मा झण्डै ११ करोडबाट सन् २०१४ मा ४२ करोडभन्दा बढी पुगेको बताएको छ। रगतमा चिनीको उच्च मात्रालाई हरेक वर्ष विश्वभरमा ३७ लाख जनाको मृत्युसँग जोडिएको बताइएको छ। अधिकारीहरुका अनुसार तत्काल कडा कदम नचालिए यो संख्या बढ्दै जाने छ।

विश्व स्वास्थ्य संगठनले आफ्नो प्रतिवेनदमा मधुमेहको वृद्धि  मुख्यतया जीवनशैलीसँग जोडिएको बताएको छ। हाल विश्वमा ३ जनामध्ये एकजनाको वजन औसतभन्दा अधिक छ, र यसरी वजन बढ्दै जाँदा मधुमेहका रोगीको संख्या पनि बढेको छ। रगतमा चिनीको मात्रा नियन्त्रण गर्न नसकेमा स्वास्थ्यमा ठूलो नकारात्मक असर पर्दछ। यसले हृदयघातको सम्भावना ३ गुणा बढाउँछ र खुट्टा काट्नुपर्ने खतरा २० गुणाले बढाउँछ। साथै यसले पक्षघात, मृगौलाको रोग, अन्धोपना र गर्भवती भएको समयमा स्वास्थ्य समस्याका सम्भावना पनि बढाउँछ। मृत्युका कारणमध्ये मधुमेह आठौं ठुलो हो, यसका कारण वर्षमा १५ लाख जनाको ज्यान जान्छ।

सन् १९८० को दशकमा सम्पन्न राष्ट्रहरुमा मधुमेहको सबैभन्दा धेरै संख्या पाइन्थ्यो, तर अहिले कम र मध्यम आय भएका देशहरुले सबैभन्दा ठुलो भार बेहोरिरहेका छन्। मध्यपूर्वमा सन् १९८० मा झण्डै ६ प्रतिशत वयस्कमा देखिएको यो रोग सन् २०१४ मा १३ प्रतिशतभन्दा बढीमा देखिएको छ। विश्व स्वास्थ्य संगठनले भनेको छ,  यो रोगको समाधान गर्न सिङ्गै समाज सक्रिय हुनुपर्छ।

विश्व स्वास्थ्य संगठनमा मधुमेह विरुद्धको अभियानका प्रमुख डा. इटीनी क्रुग भन्छन्, “सजिलो समाधान भनेको हामी सबैले व्यायाम गर्नु, स्वस्थ तरिकाले खाना खानु र धेरै वजन नबढाउनु हो। तर यो त्यति सजिलो छैन। “स्वस्थ खानाका विकल्पहरु उपलब्ध गराउनका लागि उनले सरकारहरुलाई खानामा हुने चिल्लो र गुलियो पदार्थहरु नियन्त्रण गर्न आग्रह गरेका छन्।

साईकल चढ्न र हिंड्न सजिलो हुने गरी अझ राम्रो शहरी योजना बनाउनु र स्तनपानलाई प्रोत्साहन गर्नु महत्वपूर्ण रहेको उनले बताएका छन्। उनले खाद्य उद्योगलाई खानामा चिल्लो र गुलियो पदार्थ हटाउन जिम्मेवार रुपमा काम गर्न र अस्वस्थकर खानेकुराको विज्ञापन युवाहरुलाई लक्षित नगर्न पनि आग्रह गरेका छन्। रगतमा चिनीको मात्रा नियन्त्रण गरेमा मात्रै मधुमेहबाट हुने समस्याहरु रोक्न सकिन्छ। तर विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार कम आय भएका देशमध्ये दुई तिहाईले रगतमा चिनीको मात्रा जाँच्ने उपकरण र मधुमेहको ‌औषधि उपलब्ध गराउन सकेका छैनन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !