६ आश्विन २०८१, आइतबार

नेपाल क्वाटरफाइनलमा पराजित


Asian-Games-2018

५ भदौ, काठमाडौँ । १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा सोमबार पराजित भएको छ ।

चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भएका थिए । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु आगामी शुक्रबारदेखि शुरु हुनेछ ।

पौडीमा गौरि १८ औं र टीसा २२ औँ स्थानमा 

एशियाली खेलकूदको पौडीतर्फ सोमबार भएको खेलमा दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् । खेलाडी गौरिका सिंह र टीसा शाक्य दुवैले १०० मिटर फ्रि स्टायलमा भाग लिएका थिए ।

२७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औँ र टीसा २२ औँ स्थान प्राप्त गरें । गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट शुन्य दशमलव ८२ सेकेन्ड समय खर्चिएकी थिइन् भने टिसाले १ मिनेट शुन्य तीन दशमलव सेकेन्डमा सो दूरी तय गरिन् ।

मङ्गलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रि स्टायलमा सहभागिता जनाउने छन् ।

तेक्वान्दो : सागर क्वाटरफाइनलमै रोकिए 

तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागरले भियतनामका खेलाडीसँग २५–५ अङ्कले पराजित भएको थियो ।

त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१० तथा ६७ केजीमुनि नेपालकी सङ्गीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले पराजित भइन् ।

मङ्गलबार महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले प्रतिस्पर्धा गर्ने राखेपले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !