१२ श्रावण २०८१, शनिबार

बराह ताल जाने पदमार्ग निर्माण


baraha-taal

१३ साउन, बाबियाचौर, म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराहताल जोड्ने पदमार्ग निर्माण भएको छ ।

गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत् निस्कोटदेखि बराहताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरेका हुन् ।

गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेऊसम्म ४३० मिटर पदमार्ग निर्माण भएको वडाअध्यक्ष टंक पुनले जानकारी दिनुभयो ।

साढे चार फुट चौडाइ भएको ढुंगाको सिँढीसहितको पदमार्ग निर्माण भएको हो । उक्त पदमार्गको निर्माण स्थानीय ५३ घरधुरी उपभोक्ताले दुई दिनका दरले श्रमदान गरेका थिए । यस वर्ष थप तीन सय ९० मिटर पदमार्ग निर्माण गरेपछि तालसम्म जोडिने वडाअध्यक्ष पुनले बताउनुभयो ।

पदमार्ग निर्माण भएपछि गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

निस्कोट गाउँदेखि करिब २० मिनेट उकालो हिंडेपछि पुगिने बराहतालको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«ेलगायत १० वटा हिमाल देख्न सकिन्छ । ६० मिटर लम्बाइ, ४० मिटर चौडाइ र सात मिटर गहिराइ भएको तालमा हिमालको छायाँ निकै मनमोहक देखिन्छ ।

बराहतालको संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकास गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । पदमार्ग निर्माणकार्यको पूर्णतासँगै तालमा सधैँभरि पानी भरिभराउ बनाउने र घेराबार गर्ने योजना बनाइएको छ ।

तालको महत्वबारेमा प्रचार–प्रसार गर्न उत्सवको आयोजना गर्ने योजना बनाइएको पनि वडाध्यक्ष पुनले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !