१२ श्रावण २०८१, शनिबार

मेघा सिटी, स्मार्ट सिटी विकसित गरिनेछ : मन्त्री राई


mohamad-istiyak

१३ असार, काठमाडौँ ।  शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौँ उपत्यकामा रहेका नदी सरसफाइ गर्न अभियान जारी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठान गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले घरबाट सिधै नदीमा ढल मिसाउने कार्य कडाइका साथ नियन्त्रण गर्नेछौँ भन्नुभयो ।

भवन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न, सबै पालिकामा भवनसंहिता कार्यान्वयन गराउन उनीहरुको क्षमता बढाइएको, जनता आवास कार्यक्रम प्रदेश तहबाट सञ्चालन गर्न रकम विनियोजन भएको मन्त्री राईले जानकारी दिनुभयो ।

उहाँले एकीकृत शहरी विकास गर्न संघअन्तर्गत कार्यक्रम राखी देशका १५० नगरपालिका एकीकृत शहरी योजना कार्यान्वयनमा ल्याउन लागेको, शहरलाई मेघा सिटी, स्मार्ट सिटी विकसित गर्न लागिएको जानकारी दिँदै संघीय संसद् भवन निर्माण कार्य अगाडि बढेको छ भन्नुभयो ।

मन्त्री राईले भन्नुभयो, “शहरी विकास तथा आवास निर्माण गर्न रकम विनियोजन गर्दा भेदभाव गरिएको छैन, विपन्न समुदायलाई आवास निर्माण गर्दा सरकारले सुविधा दिनेछ ।”

मन्त्री राईको सो जवाफमाथि पूरक प्रश्न गर्दै सांसद प्रेम सुवालले प्रत्येक जिल्लाका जिल्ला सदरमुकामलाई सुविधा सम्पन्न गराउन के योजना छ भनी प्रश्न गर्नुभयो ।

सांसद सरिताकुमारी गिरीले शहरी विकास कार्यक्रम नयाँ नगरपालिका पनि कार्यान्वयनमा ल्याउन माग गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले भूकम्पपीडित जनतालाई थप राहत दिन माग गर्नुभयो भने राजकिशोर यादवले प्रदेश नं २ का शहर स्मार्ट, मेघा सिटी बनाउन माग गर्नुभयो ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री राईले सांसद आवास निर्माण कार्य अगाडि बढाइने, सिराह जिल्लामा बजेट यथेष्ट विनियोजन भएको छ भन्नुभयो ।

वन कटानी गर्नेमाथि सरकारले नियन्त्रण गर्छ : मन्त्री तामाङ 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले, सीमसार, सामुदायिक वन, चुरे संरक्षण, कृषि वन व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभएको छ ।

संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठान गर्नुभएको प्रश्नको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट जवाफ दिँदै उहाँले वन पैदावार तथा उद्योगमा आधारित उद्योग स्थापना गर्ने नीति सरकारको रहेको जानकारी दिनुभयो ।

मन्त्री तामाङले नेपाल स्वच्छ वातावरण महाअभियानमार्फत वातावरण संरक्षणमा जोड दिएको चर्चा गर्दै सिन्धुपाल्चोकमा सामुदायिक वन अध्ययन केन्द्र स्थापना हुन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृषि वनमा जोड दिएको, संरक्षित क्षेत्रमा सोलार तारबार लगाउने कार्य जारी रहेको छ, वन क्षेत्रको अतिक्रम रोक्न र दिगो विकास गर्न सरकार प्रतिबद्ध छ ।”

जलवायु परिवर्तनको असर वन तथा वातावरण क्षेत्रमा पर्न नदिन विभिन्न कार्यक्रम सञ्चालनमा आएको, प्राकृतिक स्रोत संरक्षण, वैज्ञानिक वन व्यवस्थापनमा जोड दिइएको मन्त्री तामाङको भनाइ थियो ।

मन्त्री तामाङले दिनुभएको सो जवाफमाथि सांसद प्रेम सुवालले भूकम्पपीडित जनताले घर निर्माण गर्न समयमा किन काठ पाएनन् भन्ने प्रश्न गर्नुभयो ।

सांसद रामबहादुर विष्टले जडीबुटी यार्सागुम्बाकोे महत्वबारेमा प्रष्ट पार्नुपर्ने बताउनुभयो भने सरिता गिरीले सप्तरीमा हात्ती आतंक नियन्त्रण गर्न के कार्यक्रम छ भन्ने प्रश्न गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !