२२ भाद्र २०८१, शनिबार

‘अब आफैँ नाम लेख्न सक्छु’


नाम लेख्न

दमौली, १८ असोज । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आउनुभएकी विमला भट्टराईलाई आफ्नो नाम लेख्न आउदैँनथ्यो । हालसम्म किताब नछुनुभएकी उहाँले नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो । पैसट्ठी वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औठाछाप लगाउनुहुन्थ्यो ।

तर अब उहाँलाई बैङ्कमा गएर औँठाछाप लगाउनुपर्दैन, उहाँले प्रष्टसँग आफ्नो नाम लेख्न सक्ने हुनुभएको छ । “अब त बैङ्कमा जाँदा औँठाछाप होइन, आफ्नै नाम लेख्ने हो”, उहाँले भन्नुभयो, “आफ्नो नाम आफैँले लेख्न सक्ने हुँदा साह्रै खुशी लागेको छ ।”

रोट¥याक्ट क्लव अफ वेदव्यास र इनरह्विल क्लब अफ दमौलीले ज्येष्ठ नागरिक आमाहरुलाई लक्षित गरी सञ्चालन गरेको साक्षरता अभियानमार्फत उहाँले आफैँले नाम लेख्न सक्ने हुनुभएको छ । “सिकाइको उमेर हुँदैन” भन्ने नारा सहित क्लबले यही असोज ६ गतेदेखि आश्रममै साक्षरता अभियान सञ्चालन गरेको थियो । क्लबले सञ्चालन गरेको उक्त अभियानमार्फत १० जना प्रशिक्षित हुनुभएको छ ।

रोट¥याक्ट क्लब अफ वेदव्यासकी अध्यक्ष सन्जु घलेले साक्षरता अभियानमा सहभागी कतिपय आमाहरुले नेपालीमा नाम लेख्न पहिल्यै जानेको भए पनि अङ्ग्रेजीमा पनि लेख्न सक्ने हुनुभएको जानकारी दिनुभयो । “अधिकांशले पहिलो पटक आफैँले नाम लेख्न सक्ने हुनुभएको छ, केहीले पनि अङ्ग्रेजीमा पनि नाम लेख्न सिक्नुभयो”, घलेले भन्नुभयो ।

व्यास –५ कै आमाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानमा आश्रमका दुई जना र अन्य आठ जना सहभागी हुनुभयो । स्थानीय मिठु केसी, हरिमाया थापा, मनमाया श्रेष्ठ, नमून थापा लगायतले बुढ्यौली उमेरमा केही दिन भए पनि पढ्न पाउँदा खुशी लागेको बताउनुभयो ।

क्लबकी अध्यक्ष घलेका अनुसार साक्षरताको अभियानको पहिलो भाग समापन भएको र पुनः यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । यस अभियानका क्रममा दैनिक दिउँसो ४ बजेदेखि ५ः३० बजेसम्म कक्षा सञ्चालन गरिएको थियो । क्लबकै सदस्यहरुले आमाहरुलाई अक्षर चिनाउन सहजीकरण गर्नुभएको थियो । वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्लले बुढ्यौली उमेरमा पहिलो पटक अक्षर चिन्न पाउँदा महिलाहरु खुशी भएको जानकारी दिनुभयो ।

युवाले श्रमदान गरेर बनाए खेलमैदान
बन्दीपुर गाउँपालिका–५ कल्चोकका युवाहरुले श्रमदान गरेर खेलमैदान निर्माण गरेका छन् । स्थानीय टिकामाया सारु र रेशम सारुले खेलमैदान निर्माणका लागि पाँच वर्षका लागि जग्गा उपलब्ध गराएपछि युवाहरुले खेलमैदान निर्माण गरेका हुन् ।

स्थानीय युवा खेलतर्फ आकर्षित भएसँगै बन्दीपुर–५ का वडा सदस्य मदन पाटाको समन्वयमा कल्चोकमा खेलमैदान निर्माण गरिएको छ । खेलमैदान निर्माणका लागि जनप्रिय बाल क्लबका युवाले श्रमदान गरेका छन् । खेलमैदानको काम लगभग सकिएको वडा सदस्य पाटाले जानकारी दिनुभयो ।

“खेलमैदान निर्माणका लागि जग्गा थिएन, स्थानीय आमा छोराले पाँच वर्षका लागि चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभयो,” उहाँले भन्नुभयो, “सोही जग्गा सम्याएर खेलमैदान निर्माण गरेका छौ, बाल क्लवका २० भन्दा बढी युवाले दैनिक श्रमदान गरेका छन् ।” खेलमैदान निर्माणका लागि याम्पा सामुदायिक वनले रु ५० हजार सहयोग गरेको थियो ।

यहाँका युवा फुटबलतर्फ आकर्षित छन् । फुटबल खेल्नका लागि पर्याप्त जग्गा नहुँदा भञ्ज्याङमा सानो मैदानमा युवाहरु फुटबल खेल्दथे । “सानो मैदान थियो, त्यही थोरै समूह बनाएर फुटबल खेल्ने गर्थे,” उहाँले भन्नुभयो, “अब त मैदान पनि ठूलो भयो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !