९ असार २०८१, आइतबार

अफगानिस्तानका मन्त्री र गुप्तचर प्रमुखको राजीनामा अस्वीकृत


Flag_of_Afghanistan

१० भदौ, काबुल ।  अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले गृहमन्त्री, रक्षामन्त्री र गुप्तचर निकायका प्रमुखले दिएको राजीनामा आइतबार अस्वीकृत गर्नुभएको छ ।

मुलुकमा पछिल्लो समय छापामार आक्रमण बढेसँगै सरकारको व्यापक आलोचना भइरहेको बेला उनीहरुले राजीनामा दिएका थिए ।

शनिबार राजीनामा दिनेहरुमा रक्षामन्त्री तारिक शाह बाहरामी, गृहमन्त्री वाइस अहमद बार्माक र गुप्तचर प्रमुख मसूम स्टानेक्जाई रहनुभएको छ । राष्ट्रपति घानीले उहाँहरुलाई आफ्नो जिम्मेवारी पूर्ववत रुपमा सम्हाल्न आग्रह गर्नुभएको छ ।

“राष्ट्रपति घानीले उहाँहरुको राजीनामा स्वीकृत गर्नुभएको छैन, बरु सुरक्षाको अवस्थामा सुधार गर्न सुझाव दिनुभएको छ,” राष्ट्रपतिको कार्यालयको वक्तव्यमा उल्लेख गरिएको छ ।

अफगानिस्तानमा आउँदो अक्टोबरमा हुनेगरी तय भएको संसदीय निर्वाचन अघि राष्ट्रपति घानीका शाक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार मोहमद हनिफ अत्मारले पनि अघिल्लो शनिबार राजीनामा दिएपछि सरकारमाथि सङ्कट बढेको छ ।

विद्रोहीलाई नियन्त्रण गर्न नसकेको भन्दै अफगानिस्तानभित्रै पछिल्लो समय घानी प्रशासनको व्यापक रुपमा आलोचना बढ्दै गइरहेको छ ।

तालिवान लडाकूहरुले देशभरका विभिन्न प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण तिब्र बनाएका छन् भने इस्लामिक स्टेट (आइएस) समूहले राजधानी काबुललाई लक्षित गरेका छन् ।

अफगानिस्तानमा यही महिना मात्रै पनि शृंखलाबद्ध रुपमा असाधारण हिंसात्मक घटनाहरु धेरै भएका थिए ।

तालिबानले राजधानी काबुलबाट दुई घण्टाको मोटर यात्रामा पुग्न सकिने घाज्नीमा भिषण हमला गरेको थियो । स्थानीय अधिकारीहरुले तालिबानको सम्भावित हमलाबारे पटकपटक काबुललाई जानकारी गराउँदा पनि सहयोग नपाएको यहाँको सरकारी फौज निरीह बनेको थियो ।

मन्त्री र गुप्तचर प्रमुखको राजीनामा राष्ट्रपति घानीले तालिवानसँग निःशर्त तीन महिने युद्धबिरामको आह्वान गरेको एक हप्तापछि आएको हो । घानीको सो आह्वानलाई भने अमेरिका र नेटोले १७ बर्षसम्मको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण कदम भन्दै स्वागत गरेका थिए ।

घानीको आह्वानका बारेमा तालिवान लडाकूको तर्फबाट भने औपचारिक रुपमा कुनै प्रतिक्रिया आएको छैन । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !