१२ आश्विन २०८१, शनिबार

‘प्रेमको प्रतिक’ मानिने ताजमहलले रंग फेर्न थाल्यो


Taj_Mahal

एजेन्सी, १९ वैशाख । भारतको आगरामा रहेको ‘प्रेमको प्रतिक’ मानिने ताजमहलले आजभोली रंग फेर्न थालेको छ ।

भारतको सर्वोच्च अदालतले ताजमहलको रंग परिवर्तन हुन थालेकोमा त्यसलाई समाधान गर्न विदेशीहरुको सहयोग लिन सरकारलाई निर्देशन दिएको छ ।

न्यायाधीशद्वय मदन लोकुर र दीपक गुप्ताले वातावरणविदहरुद्वारा खिचिएको महलको तस्बिरहरुको अवलोकन गरेपछि सरकारलाई भारतभित्रै तथा विदेशी जानकारहरुको सहयोग लिन निर्देशन दिएको हो ।

ताजमहल सत्रौं शताब्दीमा मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय रानी मुमताजको सम्झनामा बनाउन लगाएका थिए । यो विश्वको प्रख्यात पर्यटकीय क्षेत्रमध्ये पर्दछ । अहिले पनि दैनिक सरदर ७० हजार पर्यटकले ताजमहलको अवलोकन गर्दछन् ।

ताजमहलमा सेतो सिंगमरमर प्रयोग भएकोमा पहिले पहेँलो र आजभोली खैरो तथा हरिया देखिन थालेको छ । यसको प्रमुख कारणमा प्रदूषण, निर्माण कार्यबाट निस्केको धुलो तथा किराहरुको दिशा भएको बताइएको छ ।

सरकारले महल नजिकका हज्जारौं कारखानाहरु बन्द गराइसकेको थियो तर अभियन्ताहरुले अहिले पनि सिंगमरमरले आफ्नो चमक गुमाउँदै गएको बताएका छन् ।

ताजमहल छेउबाटै बग्ने यमुना नदीमा मिसिएको नालीका कारण किराहरु आकर्षित हुने र तिनीहरुले महलको भित्तामा दिशा गर्नाले फोहोर हुने गरेको पाइएको छ । धुलो र फोहोरबाट बचाउन भनेर ताजमहलमा दुई दशकयता माटोको लिउन लगाउने र केही समयपछि उप्काउने गरिँदै आएको छ । यसो गर्दा भित्तामा टाँसिएको फोहोर लिउनसँगै टाँसिएर महलको भित्ता सफा हुने आशा गरिए पनि समस्या झन जटिल हुँदै गइरहेको बताइएको छ ।

पछिल्लो पटक गएको जनवरी महिनामा यस्तो लिउन लगाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !