७ आश्विन २०८१, सोमबार

सीपमूलक तालीम लिएपछि उद्यमी बने युवा


Nepalpatra

नवीनबाबु अधिकारी सिन्धुली, २० असार । गरीब र विपन्न परिवारका १५८ जना उद्यमी बनेका छन् । गरीबी र बेरोजगारीको चपेटामा रहेका स्थानीय युवालाई उद्याशीलता तालीम दिएपछि उनीहरु उद्यमी बनेका हुन् ।

घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको सहयोगमा सहकार्य नेपाल सिन्धुली र सामूहिक सरोकार समाज सिन्धुलीले गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत गरीबीको रेखामुनि रहेका युवालाई ४५ दिने सीपमूलक तालीम दिएको थियो ।

घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको सहयोगमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा रहेका युवालाई उद्यमी बनाउन तालीम दिएको थियो । जसअन्तर्गत सीपमूलक तालीमपश्चात हरिहरपुरगढी गाउँपालिकामा होटल व्यवस्थापनतर्फ १७, बिजुली वाइरिङमा १७, तरकारी तथा च्याउखेतीमा १५, मरिण गाउँपालिकामा हाउस वाइरिङमा पाँच, बासबाट सामग्री बनाउने सीप १०, तरकारी तथा च्याउखेतीमा २१, सुनकोशी गाउँपालिकामा बासबाट सामग्री निर्माणसम्बन्धी तालीम १५, हाते कडाइ तथा बुटिकसम्बन्धी नौ, तरकारी तथा च्याउखेतीसम्बन्धी नौ, घ्याङलेख गाउँपालिकामा हाते होजीयारीमा २३, बाँसबाट सामग्री निर्माण गर्ने नौ र तरकारीखेती गर्न आठ जनाले तालीम लिएको कार्यक्रम संयोजक मञ्जु दङ्गालले जानकारी दिनुभयो ।

घरधुरी सर्वेक्षण गरी बेरोजगार तथा गरीबीको रेखामुनि रहेका युवाको तथ्याङ्क सङ्कलन गरेर उनीहरुको व्यवसाय गर्ने मागका आधारमा विभिन्न प्रकारका सीप प्रदान गरिएको घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले जनाएको छ ।

वार्षिक प्रतिव्यक्ति ३३ हजार ५०० भन्दा कम आय भएका युवाको तथ्याङ्क सङ्कलन गरी स्थानीय स्रोतसाधनबाट व्यवसाय सञ्चालन गर्न सकिने अवस्था र बजारको मागसँगै युवाको मागका आधारमा तालीम दिएको कार्यालय प्रमुख माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

अहिले वर्षात्को समय शुरु भइसकेकाले खेतीपातीको पनि काम गर्नुपर्ने बाध्यता हुँदा तत्कालै आयआर्जनमा संलग्न नभए पनि अबको एक वर्षमा युवाहरु उद्यमी बन्ने उहाँको भनाइ छ ।

स्थानीयस्तरमा रहेका कच्चा पदार्थको प्रयोगबाट उद्यम व्यवसाय गर्न सकिने हुँदा आय स्तरवृद्धि गर्दै जीवनस्तरसमेत माथि उठाउन तालीम प्रभावकारी भएको उहाँको भनाइ छ । नेपाल सरकारले आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएअनुसार स्थानीय बेरोजगार युवालाई पनि सीप सिकाएर गरीबीको रेखामुनी रहेका व्यक्तिलाई आत्मनिर्भर बनाएर अन्ततः व्यक्ति, समाज र राष्ट्रलाई नै समृद्ध बनाउन तालीम उपयोगी हुने विश्वास उहाँको छ ।

यस्तै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शङ्करराज बर्मा तिवारीले युवालाई घरमै उद्यमी बनाउने काम राम्रो भएको बताउनुभयो । उहाँले सीप पाएपछि केही युवा रोजगारीका लागि उद्यमी बनिसकेको आफूले अनुगमनका क्रममा पाएको बताउनुभयो । विपन्न तथा पिछडिएका वर्गको आयआर्जन वृद्धि गरी स्वदेशमा नै आत्मनिर्भर बनाउने सरकारी लक्ष्यअनुसार अहिलेको अवस्थामा युवा उत्साहका साथ लागिपरेको भनाई प्रमुख तिवारीको छ ।

यो सरकारको लगानीमा युवालाई उद्यमी बनाउन लागिएकाले उनीहरुलाई व्यवसाय सञ्चालन गर्दा पर्ने समस्या र सीप सिकेकाले के गरिरहेका छन् भनेर अनुगमन गर्न स्थानीय सरकारलाई समेत आग्रह गर्नुभएको छ ।

यस्तै सीप पाएपछि सुनकोशी गाउँपालिकाका नौ युवतीले सादा कपडामा हातेकडाइ तथा बुट्टा बनाउने व्यवसाय सञ्चालन गर्ने बताएका छन् । सुनकोशी गाउँपालिका–३ का सविना आछामीले आफूले तालीम सिकेपछि सादा कपडामा विभिन्न प्रकारका क्रिष्टलका बुट्टा बनाउन सक्ने र हातेकडाइ गर्न सक्ने उहाँले बताउनुभयो । सहभागी सबै हातेकडाइ गर्न सक्ने भएकाले उनीहरु सामूहिकरूपमा व्यवसाय सञ्चालन गर्ने योजना बनाएको उहाँको भनाइ छ ।

केही रकम धरौटी राखेर होलसेल व्यापारीबाट सादा कपडा ल्याउने, अनि मागका आधारमा कपडामा बुट्टा भर्ने र पछि सोही व्यपारीलाई फिर्ता गर्ने योजना बनाएको समेत उहाँले बताउनुभयो ।

“आफँैले कपडा किनेर ल्याई हातेकडाइ गर्दा समयमै बिक्री नहुने र खर्चिलो हुने भएकाले व्यारीसँगै सहकार्य गरेर हातेकडाइको काम गर्ने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो । कपडामा बुट्टा बनाउन त सक्ने भएका छौँ, यसका दिगोपनसमेत हुने गरी बजारीकरणमा सहयोग गरिदिन उहाँको आग्रह छ ।

यस्तै सुनकोशी गाउँपालिका–२ आद्रेकोटका कमला बुर्जाले बाँसबाट धेरै सामान बनाउन सक्ने रहेछ भन्दै दाउराको रुपमा प्रयोग गर्ने बाँसबाट सामान बनाउँदा पैसा कमाउन सकिँदो रहेछ बताउनुभयो । “आफू तालीम लिएपछि मुडा, फोटो राख्ने फ्रेम, ढकी, टेबुल, सोफा, चुरिष्ट, ह्याङ्गरलगायतका सामग्री बनाउन सक्ने भएको र यसबाट आम्दानी गर्न सकिने भएपछि खुशी भएको छु”, उहाँले भन्नुभयो, “घरमै बसेर बाँसका सामान बनाई बिक्री गरेर पैसा कमाउन सक्ने भएको छु, अब त्यसै गर्छु”, उहाँले भन्नुभयो ।

स्थानीय बेरोजगार तथा कम आय भएका युवालाई विभिन्न सीपमूलक तालीम सञ्चालन गरेर स्वरोजगार बन्न सक्ने बनाएको सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले बताउनुभयो ।

उनीहरुलाई उद्यमी बन्नका लागि आवश्यक पर्ने पूँजी उपलब्ध गराउन स्थानीय सहकारीसँग समन्वय गर्ने र ती सहकारीबाट उद्यमीका लागि चाहिने रकम ऋणवापत लिने व्यवस्था मिलाइएको छ । उत्पादित सामानको बजारीकारणका सवालमा व्यवसायीसँग समेत छलफल भएको छ । उद्यमीले उत्पादन गरेको सामग्री बिक्री वितरण नभए यसको बजारीकरणका लागि आफूले सक्दो सहयोग गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !