५ आश्विन २०८१, शनिबार

राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु


Nepalpatra

म्याग्दी २६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/७६ देखि म्याग्दीलगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु गरेको छ । ग्रामीण क्षेत्रका महिलाको आयआर्जन सुधार गरी आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम शुरु गरिएको हो ।

कृषि, पर्यटन, पशुपालन र सीपमूलक उद्यम व्यवसाय सञ्चालनमा सघाउन महिलाले सञ्चालन गरेका सहकारी, समूह र संस्थालाई अनुदान उपलब्ध गराइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष ४७ समूह र संस्थालाई कार्यक्रम सञ्चालनका लागि रु छ लाख ५० हजारका दरले रु ३० करोड ५५ लाख अनुदान उपलब्ध गराइएको छ । “आगामी आर्थिक वर्षमा ५५ जिल्लामा कार्यक्रम विस्तारको तयारीमा छौँ”, मन्त्री थापाले भन्नुभयो, “कृषि, पर्यटन र स्थानीय स्रोतसाधन तथा सीपमा आधारित व्यवसाय गर्न महिलालाई सघाउन कार्यक्रम ल्याएका हौं ।”

कार्यक्रमबाट म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ साझापानीको सिर्जनशील आमा समूह, बेनीको नारी जागृति र बाबियाचौरको जनआदर्श महिला सहकारी संस्थाले अनुदान पाएका छन् । सिर्जनशील आमा समूहमा आवद्ध ३० महिलाले सामूहिक तरकारी खेती शुरु गरेका अध्यक्ष सन्तु भण्डारीले बताउनुभयो ।

मन्त्रालयले उपलब्ध गराएको अनुदान र समूहको कोष परिचालन गरेर मौसमी र बेमौसमी तरकारी खेती शुरु गरिएको उहाँले बताउनुभयो । पाँच व्यक्तिगत र चार सामूहिक टनेल निर्माण गरेर खेती शुरु गरिएको छ ।

घरायसी उपभोग, गाउँमा आवश्यक पर्ने तरकारी आपूर्तिका साथै आम्दानीको अवसर सिर्जना गर्न खेती गरिएको हो । गाउँमै तरकारी उत्पादन गरेमा बजारबाट आयात गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरिएको वडाध्यक्ष रिम कटुवालले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !