१३ आश्विन २०८१, आइतबार

विज्ञान नीतिको मस्यौदा तयार


girirajmani-pokhrel

काठमाडौँ, १४ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान नीतिको मस्यौदा तयार गरिएको बताउनुभएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियल तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजना भएको तीन दिवसीय खगोल तथा अन्तरिक्ष विज्ञान सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले नीतिका बारे मन्त्रिपरिषद्मा एक पटक छलफल गरिसकेकाले अर्को मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जानकारी गराउनुभयो ।

उहाँले विज्ञान विषयलाई जीवन पद्धतिसंँग जोड्नुपर्नेछ भन्दै विज्ञानलाई विद्यालय तहदेखि नै अनिवार्य रुपमा अध्ययन गराउनुपर्ने धारणा राख्नुभयो । नयाँ पुस्तालाई विज्ञान र प्रविधि विषयप्रति आकर्षित गराउन प्रविधि र विज्ञान प्रयोगशाला अलगअलग सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई अगाडि बढाउनका लागि विज्ञान सङ्ग्रहालयको स्थापना गरिएको छ भन्दै विज्ञान कलेजको आवश्यकता रहेको भनाइ राख्नुभयो । अन्तर्राष्ट्रियस्तरमा खगोल र अन्तरिक्ष विज्ञानमा भएका अनुसन्धानबारे शिक्षक र विद्यार्थीलाई जानकारी दिनका लागि सम्मेलन गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी गराउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले विद्यार्थी र शिक्षकलाई खगोल र अन्तरिक्ष विज्ञानको अनुसन्धान गर्न सहयोग मिल्ने उहाँले बताउनुभयो । डा शर्माले खगोल र अन्तरिक्ष विज्ञानका जनशक्ति कम भएकाले सम्मेलनले ती विषयमा अध्ययन अनुसन्धान गर्न विद्यार्थीलाई प्रेरित गर्ने समेत बताउनुभयो ।

सम्मेलनमा सात प्रदेशका ४० वटा क्याम्पसका स्नाकोत्तर तहदेखि दश जोड दुईसम्म विज्ञान विषयमा अध्ययरत रहेका करीब १२० विद्यार्थी सहभागी छन् । विद्यार्थीलाई बिपी सङ्ग्रहालय र अन्य ठाउँमा भएका विज्ञानका विभिन्न अविष्कारबारे समेत अवलोकन गराइने छ । त्रिभुवन विश्वविद्यालयका प्रा डा एनपी चापागाईं, प्राडा राजु खनाल, डा एचपी लामिछानेलगायतले खगोल र अन्तरिक्ष विज्ञानका बारेमा जानकारी दिनुहुनेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !