१३ आश्विन २०८१, आइतबार

विपन्नलाई सहयोग गर्दै ‘कतार च्यारिटी’


Nepalpatra

काठमाडौँ, ३१ वैशाख । अरब देशको दातृ निकाय ‘कतार च्यारिटी’ले नेपालका विभिन्न जिल्लामा गरीब तथा विपन्न परिवारको आयआर्जन विकासमा सहयोग गर्दै आएको छ । पछिल्लो एक वर्षमै उक्त संस्थाले सीप विकाससँगै आयआर्जनका कार्यक्रम सयौँ गरीब तथा विपन्न समुदायलाई समेटेर कार्यक्रम सञ्चालन गरेको छ ।

रमजानको महीना पारेर ‘रमजान फुड प्याकेट डिस्ट्रीब्युसन’ कार्यक्रमअन्तर्गत हालैमात्र २०० भन्दा बढी गरीब, एकल महिला, असहाय परिवारलाई २५ किलो चामल, पाँच किलो पिठो, तीन किलो चना, तीन किलो चिनी, पाँच लिटर तेल र एक किलो नुन सहयोग गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्सादअलि शेखले जानकारी दिनुभयो ।

हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएको भन्दै उहाँले संस्थामार्फत् दशैँ, तिहार, रमजान, इदजस्ता चाडपर्वको अवसरमा नियमित सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।

कतार च्यारिटी दुई वर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आएको छ । संस्थामार्फत् अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, विद्यालयमा चर्पीलगायतका आवश्यक पूर्वाधार निर्माण, कमजोर आर्थिक अवस्था भएकालाई विभिन्न प्रकारका आर्थिक सहयोग हुने गरेको छ ।

विश्वको ३० देशमा कार्यक्रम सञ्चालन गरेको संस्थाले गत वर्षबाट नेपालमा सहयोग गर्न थालेकामा यसअघि सर्लाही र रौतहटका करीब २६४ परिवारलाई रु ७२ लाख बराबरको बाख्रा वितरण गरेको र रौतहटका १० लाई किराना पसल तथा १० लाई ठेला पसल सञ्चालनका लागि आवश्यक सहयोग गरेको जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !