१३ आश्विन २०८१, आइतबार

उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने


kathmandu nagarpalika

काठमाडौँ, ३० वैशाख । काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उहाँहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगर एकापसमा छिमेकी रहेकाले एउटाको मात्रै विकास भएमा त्यसले कुनै अर्थ नराख्ने हुँदा एकापसमा छलफल गरी आवश्यकताको आधारमा विकासको काम अघि बढाउनुपर्ने बताउनुभयो ।

विभिन्न नगरबाट कार्यक्रममा सहभागी हुन आउनुभएका नगर प्रमुखले आधारभूत र माध्यमिक तहको शिक्षा पाठ्यक्रममा नै सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी सडकमा साइकल लेन र सार्वजनिक यातायातका साधनलाई प्राथामिकतासँगै फुटपाथ अतिक्रमणलाई कम गर्न सके पनि सडक दुर्घटना कम हुने विषयलाई उठान गरिएको थियो । कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले ठूला सवारी साधन प्रयोगमा जोड दिनुका साथै घरको नक्सा पास गर्दा यातायातको साधन पार्क गर्ने स्थान छ कि छैन भन्ने विषयमा नक्सा पास गर्ने निकायले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

राससकर्मी गिरी पुरस्कृत

राससमा कार्यरत रमेश गिरी काठमाडौँ महानगरपालिकाको सडक सुरक्षासम्बन्धी फोटो प्रदर्शनीबाट रु १० हजारसहित पुरस्कृत हुनुभएको छ । प्रदर्शनीबाट गिरीसँगै मीनरत्न बर्जाचार्य रु २५ हजारसहित प्रथम, मीन लामा रु २० हजारसहित द्धितीय, प्रनी कोइरालाले रु १५ हजारसहित तेस्रो स्थान हासिल गर्नुभएको छ ।

कामपाले विभिन्न सञ्चारमाध्यम र नागरिकसँग सार्वजनिक सूचनामार्फत् माग गरी गत शुक्रबारदेखि रत्नपार्कमा सडक सुरक्षासम्बन्धी १०० फोटो प्रदर्शनीमा राखेको थियो । आइतबार भएको कार्यक्रममा उहाँहरु सबैलाई कामपाको प्रमुख विद्यासुन्दर शाक्यले पुरस्कार प्रदान गर्नुभएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !