१२ श्रावण २०८१, शनिबार

बसपार्क र सवारी साधन व्यवस्थापनमा चुनौती


Nepalpatra

नेपालगञ्ज, २५ वैशाख । सडक सञ्जालसँग जोडिँदै गएको नेपालगञ्जमा ट्राफिक नियमको पालन र व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । नेपालगञ्जदेखि नेपालका अधिकांश प्रमुख शहरमा सवारी साधन छुट्छन् । जिल्लाका सबै ठाउँलाई जोड्ने सडक पनि धमाधम बनिरहेका छन् तर नेपालगञ्जमा निर्माणाधीन ठूलो बसपार्क निर्माणमा भएको ढिलाइ र स–साना बसपार्क पनि भद्रगोलकै अवस्थामा भएकाले यात्रुले हैरानी भोग्नुपरिरहेको हो ।

नेपालगञ्ज बजार पश्चिम नेपालकै ठूलो बजार हो । यहाँबाट जिल्लाका विभिन्न ठाउँ र नेपालको मुख्यमुख्य ठाउँका लागि दैनिक सयौँ सवारी साधन छुट्ने गर्दछन् तर, बसपार्कको व्यवस्थापन राम्रो हुन नसक्दा सडक छेउबाटै गाढी चढ्ने र यात्रु ओराल्ने गरिन्छ । कतिपय सवारीधनीले आफैँले मनपरि ठाउँ तोकेर सो स्थानबाट सवारी साधन सञ्चालन गर्दै आएका पनि छन् । नेपालगञ्ज बजारभित्रका सबैखाले बसपार्क व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका अहिले योजनाविहीन जस्तै छ ।

नेपालगञ्जमा सबैभन्दा बढी बर्दियाबाट मानिस आउने गर्दछन् तर, यहाँबाट बर्दियाको गुलरिया–राजापुरका लागि सञ्चालन हुने सार्वजनिक यातायातका व्यवस्थित बसपार्क नहँुदा यात्रुले कष्ट भोग्नुपरिरहेको छ । बसपार्क व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित यातायात व्यवसायीसँग समन्वय गर्दै आए पनि त्यो प्रभावकारी हुन भने सकेको छैन । “नगर क्षेत्रभित्र रहेका बसपार्क व्यवस्थापन गर्ने दायित्व नेपालगञ्ज उपमहानगरपालिकाको हो । नगर र जिल्लाभरिका बसपार्क र सडक छेउको पार्किङको व्यवस्थापन नगरपालिकाले गर्नुपर्छ”, बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हीरेन्द्र रोकायको भनाइ छ ।

बाँकेलगायत बाहिरबाट दैनिक सयाँैको सङ्ख्यामा सवारी साधन नेपालगञ्ज आउने गर्दछन् तर, ‘नेपालगञ्ज बसपार्क’ तीन वर्षदेखि निर्माणकै क्रममा रहेकाले सडक छेउमै यात्रु झार्ने र चढाउने गरिएको छ । “पन्ध्र महीनामा निर्माण सक्नुपर्नेमा ठेकेदारको लापरवाहीले पटकपटक म्याद थप्दा पनि बसपार्क निर्माण हुन सकेको छ्रैन । हामीले ठेकेदारलाई छिटो निर्माणका लागि ताकेता गरिरहेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाको स्पष्टोक्ति छ ।

यसैगरी, बर्दियाका लागि धम्बोझीस्थित खजुरारोडमा सामान्य खालको बसपार्क छ । तर, बसका कर्मचारीले बसपार्क अगाडिको सडकबाट यात्रु झार्ने र चढाउने गरेका छन् । यसबाट दुर्घटनाको सम्भावना बढेको छ भने ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको जिल्ला ट्राफिक कार्यालयको भनाइ छ ।

नेपालगञ्जबाट लामो र छोटो दूरीका लागि छुट्ने सवारी साधनका लागि बसपार्क निर्माण र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालय र सम्बन्धित यातायात व्यवसायीसँग छलफल भइरहेको नगर उपप्रमुख उमा थापामगरले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !