१७ असार २०८१, सोमबार

आदिकविका विद्यार्थीले गृहिणीलाई पढाए सूचना प्रविधि


Nepalpatra

दमौली, २० वैशाख । राष्ट्रिय सूूचना सञ्चार तथा प्रविधि दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले गृहिणीलाई सूचना प्रविधिबारे पाठ पढाएका छन् ।

क्याम्पसमा स्नातक तहमा सूचना सञ्चार तथा प्रविधि विषयमा अध्यनरत विद्यार्थीले छिमेकमा रहेको आमा समूहका गृहिणी महिलालाई विहीबार सूचना सञ्चार तथा प्रविधिका प्रयोग, फाइदा र बेफाइदाबारे पढाएका हुन् ।

क्याम्पसको विज्ञान तथा प्रविधि विभागको आयोजनामा भएको कार्यक्रममा विज्ञानचौर आमा समूहका ४० गृहिणी सहभागी भएको विभागका प्रमुख राजन घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजको विज्ञान र प्रविधिको युगमा सूचना प्रविधिको सकारात्मक तथा नकारात्मक दुवै असर रहेकाले यसबारेमा महिलालाई जानकारी दिन कार्यक्रम गरेका हौँ ।”

सो अवसरमा आइसिटी विषय समिति संयोजक सुलभकुमार श्रेष्ठ, विज्ञानचौर टोल आमा समूहका उपाध्यक्ष कविता रानाभाटलगायतले प्रविधिको अनुभव सुनाउनुभएको थियो । त्यस्तै क्याम्पसका विद्यार्थी सन्तोष आलेले मोबाइल एप्सको उपयोगिता, अस्मिता पौडेलले मोबाइलको प्रयोग र दुरुपयोग र गौरव पन्थले साइबर अपराधका विषयमा जानकारी गराउनुभएको थियो ।

सूचना प्रविधि दिवसको अवसरमा क्याम्पसले व्यास नगरपालिका–१३ स्थित जनजागृति माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ भने आज व्यास नगरपालिकास्थित विभिन्न विद्यालयका प्रधानाध्यापकलाई सूचना प्रविधिको प्रयोग सम्बन्धमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो ।

बेसहारा बालिकाले पाइन् सहारा

यतिबेला विद्यालय भर्ना अभियान सञ्चालन भइरहेको छ । भर्ना अभियानको क्रममा जनप्रतिनिधि, विभिन्न सङ्घसस्था एवं व्यक्तिले गरीब तथा विपन्न विद्यार्थीको अभिभावक ग्रहण गरिरहेका छन् । यही अभियानमा जोडिँदै कम्प्युटर एशोसिएसन महासङ्घ नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष तुलसीराम पाण्डे बेसहारा बालिकाको सहारा बन्नुभएको छ । व्यास नगरपालिका–११ शेरास्थित वसन्त आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत पुष्पा थापाको अभिभावकत्व ग्रहण गर्दै पाण्डेले उनलाई उच्च शिक्षासम्म अध्ययन गराउने जिम्मा लिनुभएको हो । उहाँले भन्नुभयो, “उनले जतिसम्म पढ्न चाहन्छिन् त्यतिसम्म पढाउनका लागि सम्पूर्ण जिम्मेवारी अब मेरो भयो ।”

राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा दमौलीमा आयोजित कार्यक्रममा लुम्बिनी कम्प्युटरका सञ्चालकसमेत रहनुभएका पाण्डेले ती बालिकालाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराउनुभएको छ । प्रतिनिधिसभा सदस्य केदार सिग्देल, प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, डोवाटे विक र सरिता गुरुङको उपस्थितिमा पाण्डेले बालिकालाई झोला, पोशाक र पाठ्यपुस्तक उपलब्ध गराउनुभयो ।

वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक शर्मिला ओझाले बालिकाको अभिभावकत्व ग्रहण गरेर पाण्डेले उदाहरणीय काम गरेको बताउनुभयो । ठूलीआमासँग बसेर अध्ययन गर्दै आएकी पुष्पाले आर्थिक अभावकै कारण पढाइ छाड्नुपर्ने हो कि भन्ने चिन्ता अब हटेको उहाँले बताउनुभयो । सोही वडाको रामथुम्की निवासी पुष्पाको बुबाको दुई वर्षअघि हत्या भएको थियो । त्यसलगत्तै उनकी आमाले समेत उनलाई छाडेर अन्यत्रै गएपछि उनी ठूलीआमासँग बसेर पढ्दै आएकी छिन् ।

वडा कार्यालयको भवन निर्माण

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० को भवन निर्माण सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनपछि करीब दुई वर्षसम्म साविक ढोरफिर्दी गाविसको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालय रु ४९ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

भवन निर्माणसँगै वडाले आफ्नै भवनबाट जनतालाई सेवा प्रवाह गरेको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साविकको गाविस भवनबाट सेवा प्रवाह गर्न असहज भइरहेको अवस्थामा नयाँ भवन निर्माणपछि सेवा प्रवाहमा सहजता आउनेछ ।”

गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीय सरकार सुदृढ भए मात्रै सङ्घीयताको सफल कार्यन्वयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावको बेला जनतामाझ गरेको सिंहदरबारको अधिकार गाउँमा ल्याउने प्रतिबद्धता पूरा गर्न गाउँबाटै सेवा दिनुपर्छ ।”

शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले वडा कार्यालयको नयाँ संरचना निर्माण गरेर सेवा प्रवाह गर्नु सङ्घीयताको बलियो आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालयले पुराना संरचनालाई मर्मत गरेर सेवा प्रदान गर्दै आएको थियो । वडामा सबैलाई पायक पर्ने स्थानमा नयाँ भवन निर्माण गरेर जनतालाई सहज हुने गरी सेवा दिन थालेका छौँ ।”

नगरपालिकाका उपप्रमुख सविता रसाइलीले आफ्नै भवनबाट सेवा दिँदा छिटोछरितो हुने बताउँदै सङ्घीयता गणतन्त्रको देन भएकाले जनप्रतिनिधिले विकास निर्माणको गतिलाई तीव्र पार्ने बताउनुभयो ।

सात सय पशुको निःशुल्क स्वास्थ्य परीक्षण

तनहुँको भिमाद नगरपालिका पशु सेवा केन्द्र र अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा वडा नं ९ मा भएको शिविरमा ७०० पशुको स्वास्थ्य परीक्षण गरिएको छ ।

गाउँमै पुगेर पशुको उपचार गर्ने उद्देश्यसहित आयोजना गरिएको निःशुल्क पशु स्वास्थ्य शिविरमा ६९४ पशुको स्वास्थ्य परीक्षण गरिएको हो । हेफर इन्टरनेशनल नेपालको प्राविधिक सहयोग र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको समन्वयमा भएको शिविरमा ४४४ बाख्रालाई जुका÷नाम्लेको औषधि, १७ बोकाको बन्ध्याकरण, १४ कुकुरलाई रेविजविरुद्धको खोप, ३५ भैँसीलाई नाम्लेविरुद्धको औषधि, १४ गोरुलाई जुका÷नाम्लेको औषधि वितरण गरिएको पशु शाखाका पशु चिकित्सक होमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

भिमाद नगरपालिका–९ का अध्यक्ष इमान थापाले पशु स्वास्थ्य शिविरले साना किसानको पशुधनको सुरक्षा गर्ने बताउनुभयो । उहाँले पशुको स्वास्थ्य परीक्षणका लागि कृषकलाई बजारसम्म झर्नुपर्ने बाध्यताको अन्त्य गर्दै अन्य गाउँमा समेत निःशुल्क परीक्षणको व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

सो अवसरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत डा मुकेश पञ्जियार, पशु प्राविधिक लेखनाथ भण्डारी, सुदीप गैरे र सन्तोष सिग्देलले शिविरमा प्राविधिक सेवा प्रदान गरेको नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !