१५ आश्विन २०८१, मंगलबार

त्रियुगामा अर्को त्रिवेणीधाम मन्दिर निर्माण हुँदै


Nepalpatra

२१ चैत, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित विषणपुरको त्रियुगा नदी क्षेत्र त्रिवेणीमा अर्को त्रिवेणीधाम त्रिवेणी देवीको मन्दिर निर्माण गरिने भएको छ । नगरपालिकाले नदी क्षेत्रलाई स्वच्छ र सफा राख्न तथा धार्मिक रुपमा समेत पवित्र नदीका रुपमा विकास गर्न त्रियुगा क्षेत्रका बरुवा खोला, लुहाले खोला र त्रियुगा खोला बीचमा त्रिवेणी देवीको मन्दिर निर्माण गर्न लागिएको हो ।

नगरपालिकाको रु २० लाखभन्दा बढीको आर्थिक सहयोगमा मन्दिर निर्माण गर्न लागिएको कुरा नगर प्रमुख बलदेव चौधरीले बताउनुभयो । नदी क्षेत्रलाई स्वच्छ, सफा राख्न र पवित्र धार्मिकस्थलका रुपमा विकास गर्न नगरको विषणपुरस्थित त्रिवेणीमा पहिलो पटक मन्दिर र धामको स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडाका जनप्रतिनिधिसहित हजारौँ स्थानीयवासीसमेत परिचालन गरेर नदीलाई पहिलो पटक स्वच्छ नदीका रुपमा विकास गर्न बृहत् सफाइ अभियान सञ्चालन गर्न लागिएको नगर प्रमुख चौधरीले बताउनुभयो । विगतमा नदीको पानी सफा र स्वच्छ रहेका कारण नुहाउने, पिउने तथा भगवान्को मन्दिरमा समेत जल चढाउने गरिँदै आएको भए पनि हिजोआज नदी क्षेत्र फोहर र प्रदूषित हुनाका साथै पानीसमेत प्रदूषण भएकाले उक्त अभियान शुरु गरिएको वडा नं १२ का वडाअध्यक्ष जयविक्रम राईले बताउनुभयो ।

त्रिवेणीधाममा माघेसङ्क्रान्ति, वैशाख पूर्णिमा तथा प्रत्येक नयाँ वर्षमा धार्मिक मेला लाग्ने गरेको छ भने हजारौँ हजार भक्तजनले नुहाउने र त्रिवेणीधाममा पूजा तथा आरधनासमेत गर्दै आएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !