१५ आश्विन २०८१, मंगलबार

माटो जाँच गर्दै नगरपालिका


Nepalpatra

२० चैत, जाजरकोट । कृषिजन्य वस्तुको उत्पादन वर्षेनी घटेको भन्दै माटो परीक्षण शुरु भएको छ । जिल्लाको भेरी नगरपालिकाले यहाँका किसानको कृषिजन्य वस्तुमा गरेको लगानीअनुसारको प्रतिफल पाऊन् भन्ने उद्देश्यले माटो जाँच गर्न लागिएको बताएको छ ।

नगरपालिकाको कृषि उपशाखाले दुई चरणमा यहाँका सबै किसानको खेतबारीको माटो परीक्षण गर्न लागेको बताएको छ । प्राङ्गारिक मलभन्दा रासायनिक मलको प्रयोगमा वृद्धि भएपछि कृषकका खेतबारीको माटोमा उत्पादकत्व घटेको उपशाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो । नगरपालिकाभरिका किसानको माटो जाँचपछि कुन ठाउँमा के खाद्यान्न बाली लगाउँदा उत्पादन राम्रो हुन्छ भन्ने पत्ता लगाएर सोहीअनुसार किसानलाई सल्लाह दिइने उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो, “यहाँका किसानले अहिलेसम्म माटो जाँच नगरेरै कृषिजन्य वस्तु लगाउँदै आउनुभएको छ, तर कुन ठाउँमा के बाली लगाउँदा उत्पादन राम्रो हुन्छ भन्ने अनुमानकै भरमा लगाएकाले उत्पादन राम्रो हुन सकेको छैन ।”

नगरपालिकाभरिको माटोको अवस्था पत्ता लगाएर सोहीबमोजिम खेती गर्न सल्लाह दिने योजनामा रहेको भन्दै आधिकारीले थप्नुभयो, “थोरै दुःख गरेर धेरै आम्दानी गर्न सकिने विधिको विकासमा लागेको छौँ ।” माटो जाँच शिविर स्याउलीबजार र सदरमुकाम खलङ्गामा सञ्चालन गरिएको छ ।

उत्पादन बढाउन नयाँनयाँ जातको सिफारिसका साथै आवश्यक ज्ञानसमेत दिने योजनाअनुसार नगरपालिका लागिपरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । अधिकांश जनता कृषिखेतीमा भए पनि दुःखअनुसारको फल हात नपर्नु दुःखको कुरा भएको भन्दै नगरप्रमुख घर्तीले भन्नुभयो, “निःशुल्क माटो जाँच र सोहीअनुसारको उत्पादन हुने बालीको सिफारिस गरिनेछ, बेलाबेलामा किसानका खेतबारीमा कृषि प्राविधिकलाई खटाइने छ ।”

जाजरकोट भौगोलिकरूपले विविधतायुक्त एवं व्यापक सम्भावना बोकेको जिल्ला हो । कुन माटोमा कस्तो बाली उपयुक्त हुन्छ भन्ने ज्ञान नहुँदा कृषकले उपयुक्त फाइदा लिन सकेका छैनन् । जिल्लामा माटोको गुण र विशेषता पनि विभिन्न प्रकारको छ । नगरपालिकाले किसानको जीवनस्तरमा सुधार ल्याउन र व्यावसायिक बनाउन रु एक लाख २४ हजारको ७५ प्रतिशत मूल्य अनुदानमा कृषकको मागबमोजिम उन्नतजातको तरकारीको बीउ वितरण गरिएको छ । ७५ प्रतिशत मूल्य अनुदानममा कृषकको मागबमोजिम एक हजार प्याकेट च्याउको बीउ कृषकलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै पन्ध्र केजी उन्नत जातको प्याजको बीउ वितरण गरिएको छ ।

नगरपालिकाले किसानको सङ्ख्या ३३ हजार ५१५ रहेको जनाएको छ । यहाँको कूल क्षेत्रफल २१९.७७ वर्गकिलोमिटर रहेको छ । धान, गहुँ, मकै, कोदो र अन्य तरकारीबालीको खेती गरिँदै आएको नगरपालिकाले जानकारी दिएको छ । सबैभन्दा बढी धान फल्ने होलु ज्यूला यसै नगरपालिकमा पर्दछ । तरकारी उत्पादनको ‘हव’ मानिने मटेला र कालेगाउँ पनि भेरी नगरपालिकाभित्रै पर्दछन् ।

पर्याप्त कृषि क्षेत्रमा सिँचाइ सुविधा भएमा नगरपालिकामा उत्पादन गरेको अन्नले अन्य स्थानीय तहमा समेत पुग्ने देखिन्छ । यहाँ उत्पादन गरिएका तरकारी नेपालगञ्ज, सुर्खेत र रुकुममा समेत पुग्ने गरेको छ । जाजरकोटको ३५ हजार ३२६ हेक्टर जमीन खेतीयोग्य रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !