१४ असार २०८१, शुक्रबार

युवालाई जगाउँदै ‘रोट्र्याक्ट’


Nepalpatra

३० फागुन, बागलुङ । ‘स्वार्थभन्दा माथि सेवा’ को आदर्श वाक्यसहित बागलुङमा ‘रोट्र्याक्ट’ सप्ताह शुरु भएको छ । रोट्र्याक्ट क्लब अफ बागलुङले युवालाई सामाजिक सेवामा जोड्न वर्षेनी रोट्र्याक्ट सप्ताह मनाउँदै आएको छ ।

यही चैत ५ गतेसम्म चल्ने सप्ताहमा विविध रचनात्मक कार्यक्रम गरिने क्लबका अध्यक्ष बलबहादुर थापाले बताउनुभयो । सप्ताहको पहिलो दिन बुधबार अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको क्लबले जनाएको छ । यस्तै आज शान्ति दौड, चैत १ गते बौद्धिक अपाङ्गता भएका विद्यार्थीसँग मित्रमिलन, २ गते भाषणकला प्रशिक्षण, ३ गते फुटसल प्रतियोगिता र ४ गते पञ्चकोटमा पर्यटकीय सूचना बोर्ड राखिने भएको छ । चैत ५ गते जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणसहित सप्ताहव्यापी कार्यक्रम सकिनेछ ।

सामुदायिक विद्यालयका चार विद्यार्थीलाई रु पाँच हजारका दरले छात्तवृत्ति प्रदान गरिने सप्ताहका मूल संयोजक ताराप्रसाद शर्माले बताउनुभयो ।

युवाको व्यक्तित्व तथा नेतृत्व विकाससहित सामाजिक सेवामा क्लब क्रियाशील भएको अध्यक्ष थापाले बताउनुभयो । “रोट्र्याक्ट सप्ताह हाम्रा लागि वार्षिक चाडजस्तै हो”, उहाँले भन्नुभयो, “क्लबका साथीहरुले आफ्नो दक्षता देखाउने अवसर पनि हो यो ।”

सप्ताहको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले गतिशील र चरित्रवान युवा तयार गर्न क्लबले योगदान पु¥याएको उल्लेख गर्नुभयो । “क्लब सामाजिक रुपान्तरणमा केन्द्रित हुनुपर्छ”, उहाँले भन्नुभयो, “जनचेतना अभिवृद्धिसहित समाजलाई अग्रगति दिनेतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।” क्लबमा ५० युवा आवद्ध छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !