२२ फाल्गुन २०८०, मंगलबार

काठमाडौंको चन्द्रागिरीमा बिहानै प्रहरी र लुटेरासमूहवीच गोली हानाहान


काठमाडौंको चन्द्रागिरी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ।चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान ५ बजेर २२ मिनेटतिर गोली हानाहान भएको हो।

लुटेरा समूहलाई पछ्याउने क्रममा प्रहरीमाथि २ राउण्ड गोली फायर भएको र प्रहरीले पनि २ राउण्ड गोली चलाएको काठमाडौं प्रहरीका एसपी प्रद्युम्न कार्कीले बताए। दुवै तर्फ क्षति नभएको उनले बताए।

चिहानडाँडामा बा १ ज ३९४८ नम्बरको सुमो छाडेर लुटेरासमूह भागेको छ। उनीहरु जंगलतिर पसेका छन्।

सुमोमा बन्द अवस्थामा रहेको सेफ फेला परेको एसपी कार्कीले बताए।

‘उनीहरुले कुनै बैंक तथा वित्तिय संस्थामा रहेको सेफ अथवा सुनचाँदी पसलमा रहेको सेफ लुटेर लगेको हुनसक्छ’, एसपी कार्कीले भने ‘यस विषयमा अनुसन्धान भइरहेको छ।’ बिहानै काठमाडौंबाट सुमो मातातीर्थतर्फ लागेपछि स्थानीय प्रहरी चनाखो हुँदै त्यसको पिछा गरेको थियो।

काठमाडौंबाट अहिले घटनास्थलमा थप प्रहरी पुगेको छ। जंगललाई घेरा हालेर अहिले त्यहाँ सर्च अप्रेसन चलाइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !