९ असार २०८१, आइतबार

गोदाम बन्दै शौचालय


toilate

२८ फागुन, बाँके । बाँके खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको भएपनि यहाँका धेरै घरपरिवार भने अहिले पनि शौचालयको पहुँचमा छैनन् । हचुवा र हतारमा बाँकेलाई खुला दिसामुक्त गरिएकै कारण अहिले अधिकांश स्थानीय तहमात्रै होइन, सदरमुकाम नेपालगञ्ज र शहरोन्मुख कोहलपुरमा समेत आवश्यकताअनुसारका शौचालयको अभाव छ ।

कतिपय घरधुरी शौचालयविहीन छन् भने बनाएका कतिपय घरधुरीका शौचालय शौचका लागि प्रयोगमा आउन सकेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिका–८ का अधिकांश घर अहिले पनि शौचालयको पहुँचमा छैनन् । अन्य वडामा पनि यो अवस्था रहेको स्थानीयवासी बताउँछन् ।

घरमा शौचालय बनाएका जिल्लाका अधिकांश नागरिक शौचालय प्रयोगका बारेमा अनभिज्ञ छन् । कतिपयले शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेका छन् । कतिपय घरधुरीमा त शौचालय सामान राख्ने गोदाम जस्तै भएको छ । सर्वसाधारणमा जीर्ण अवस्थामा रहेका शौचालयको मर्मतसम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि अभाव छ ।

कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा घरधुरीमा निर्माण भएका कतिपय शौचालय प्रयोगमा छैनन् । कतिले बनाएकै छैनन् । यस क्षेत्रका कतिपय नागरिकले घरमा भएका शौचालयमा गाईभैँसीलाई आवश्यक पर्ने पराल, दाउरालगायतका सामग्री राख्ने गरेको पार्वतपुरकी बेलकुमारी उपाध्यायले बताउनुभयो ।

अनभिज्ञताको कमीले बाँकेका ग्रामीण क्षेत्रका नागरिक शौच गर्न बाहिरै खुला चौर तथा खेतमा जाने क्रम रोकिएको छैन । यसले वातावरणमा समेत प्रदूषण फैलाएको छ ।

चेतनाकै अभावले गर्दा घरमा भएका शौचालयमा घरायसी प्रयोजनका सामान राख्ने गर्दै आएको कारकादोकी स्मृति डिसीले बताउनुभयो । यो समस्या नेपालगञ्ज उपमहानगरपालिकाका भित्री बस्तीका साथै कोहलपुर क्षेत्रका विभिन्न गाउँमा रहेको छ ।

कतिपय नागरिकले जसोतसो शौचालय बनाए पनि आर्थिक अभावले ती शौचालयमा ढोका र छानोसमेत हाल्न नसकेको शम्शेरगञ्जकी भागमती बर्मा बताउनुहुन्छ । ढोका र छानो नहुँदा बाँकेमा धेरै घरधुरीमा बनेका शौचालय प्रयोगविहीन भइरहेका छन् । ढोकै नभएको शौचालय प्रयोग गर्नु असुरक्षित महसुस हुने गरेको स्थानीय महिला बताउँछन् ।

कतिपयको शौचालय प्रयोग नहुँदै जीर्ण भइसकेका छन् । आर्थिक अभावले जीर्ण शौचालयको मर्मत गर्न नसकिएको पूजा बर्माले बताउनुभयो । शम्शेरगञ्जका जागेश्वरलाल यादवले अधिकांशले शौचालय बनाए पनि प्रयोग र मर्मतको समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शौचालय मर्मत गर्न पैसा छैन, पहिले जस्तै खुलारुपमै दिसापिसाब गर्दै आएका छौँ ।”

बाँकेलाई खुला दिसामुक्त घोषणा गर्ने होडबाजीमा सरकारी तथा गैरसरकारी संस्थाले शौचालय बनाइदिए । व्यक्तिको आफ्नो लगानी र मिहेनत नभएका कारण पनि अरुले बनाइदिएको शौचालयको प्रयोगतर्फ चासो नभएको हुनसक्ने जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको भनाइ छ ।

बाँकेलाई खुला दिसामुक्त गरेसँगै बनाइएका शौचालय प्रयोगमा छन् कि छैनन्, यसको सदुपयोग भयो÷भएन अहिलेसम्म कसैले पनि अनुगमन गर्न र बुझ्न नसकेको स्थानीयवासी बताउँछन् । यहाँका सरकारी र अन्य कार्यालय, विद्यालयहरुमा समेत व्यवस्थित शौचालयको अभाव रहेको छ ।

जिसस संयोजक श्रीवास्तवले नागरिकमा शौचालय प्रयोग गर्नुपर्छ भन्ने सचेतना दिन जरुरी रहेको बताउनुहुन्छ । उहाँले स्थानीय तह र सरसफाइसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायले ध्यान दिनुपर्ने धारणा राख्नुहुन्छ । सरोकारवाला सरकारी तथा गैरसरकारी निकायले अहिलेसम्म शौचालयको अनुगमन गर्न चासो नदेखाउँदा जिल्लालाई खुला दिसामुक्त घोषणा केबल औपचारिकतामा सीमित बन्न पुगेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !