१५ असार २०८१, शनिबार

गमगढी सडकको अवस्था झनै नाजुक


Nepalpatra

२४ फागुन, सिञ्जा । कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ । वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई निकै सकस हुने गरेको छ । सडकमा गाडी गुड्दैनन् । यात्रुले उत्रेर धकेल्नुपर्ने अवस्था छ ।

ठेकेदारको चरम लापर्वाहीका कारण सिञ्जा क्षेत्रमा पर्ने रारा जाने बाटो उच्च जोखिममा रहेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “बाटोको अवस्था दयनीय छ । ठेकेदारले स्तरोउन्नति गर्ने नाममा गरिरहेको कामको सरोकारवाला निकायले चासो देखाएका छैनन् । ”

वर्षा लाग्नुअघि नै स्तरोन्नतिको काम नसकिए यो सडक बन्द हुने निश्चित छ । सडक बन्द भए र सवारी चल्न नसके स्थानीय यस बाटो भएर पुगिने तीन वटै गाउँपालिकाको यातायात सम्पर्कविच्छेद हुने देखिएको स्थानीयवासीले बताएका छन् ।

साथै चाँडोभन्दा चाँडो सडकको स्तरोन्नति नगरे आफू चुप लागेर नबस्ने स्थानीयवासीले चेतावनीसमेत दिएका छन् । नेपाली भाषाको उद्गमस्थल सिञ्जा र नेपालको सबैभन्दा ठूलो ताल रारा जोड्ने सडकको अवस्था नाजुक हुँदासमेत कसैको ध्यान पुग्न नसेकेकोमा स्थानीयवासी चिन्तित बन्न थालेका छन् ।

सिञ्जा गाउँपालिका चारका देउराम रानाले भन्नुभयो, ‘सडक साघँुरो छ, त्यसैमा स्तरोउन्नति गर्ने भन्दै झन जोखिमपूर्ण बनाइएको छ । यो सडक आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीका लागि काल बन्दै छ ।’

योवर्ष परेको हिमपातले लामो समयसम्म सडक बन्द छ । विभिन्न ठाउँमा हिलो र खाल्डैखाल्डा भएका छन् । यात्रा निकै जोखिमपूर्ण छ । ‘जोखिमपूर्णयात्रा गर्नु पर्दाको पीडा कसले देख्छ?’ स्थानीयवासी रतिमान नेपालीले भन्नुभयो, ‘यसप्रति तत्काल राज्यको ध्यान जावोस् । जनप्रतिनिधिको नजर परोस् । स्थानीय नागरिकले सहजैयात्रा गर्ने माहोल बनोस् । हामी यो चाहान्छौं ।’

ग्राभेलका लागि नाग्म–बड्कीसम्म १३ किमि सडक हिम्दुङ थोक हीरा नमिता जेभीले रु सात करोड ९० लाख ९५ हजारमा र १३ दशमलव एक किमिदेखि १७ दशमलव पाँच किमिसम्मको सडक थोदुङ निर्माण प्रालिले रु दुई करोड ३० लाख ३४ हजारमा ठेक्का पाएका छन् ।

एकाननब्बे किलोमिटर दूरीको नाग्म–गमगढी सडकको करीब १८ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको हिम्दुङ थोक हीरा नमिता जेभीले ३५ महीनाभित्र कामसक्ने भनेर विसं ०७२ माघ १० गते र थोदुङले २२ महीनामासक्ने भनी ०७३ जेठ २७ गते सम्झौता गरेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
( रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !