१३ पुस २०८१, शनिबार

उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या


balak

नेता तथा पहुँचवाला व्यक्तिको उपचारमा हरेक वर्ष सरकारले करोडौँ रकम बाँडिरहँदा एक युवकले भने उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या गरेका छन् । दोलखा मालुका १९ वर्षीय विजय खड्काले मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् ।

दुवै मिर्गौला फेल भएका खड्काले त्रिवि शिक्षण अस्पतालमा डायलोसिस गराउँदै आएका थिए । डेढ वर्षयता उनले सातामा तीन दिन गराउनुपर्नेमा दुई दिन निःशुल्क र एक दिन आफ्नै खर्चमा डायलसिस गराउँदै आएका थिए । सातामा उनको तीन हजार रुपैयाँ खर्च हुने गरेको थियो । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनलाई उपचार खर्च जुटाउन समस्या थियो । ‘मिर्गौला प्रत्यारोपण गर्ने हामीसँग पैसा थिएन,’ मृतकका दाजु सुमित खड्काले भने, ‘साथीभाइ र आफन्तहरूसँग मागेर उपचार गराउँदै आएका थियौँ ।’

परिवारले विजयलाई अस्पतालमा आइतबार, मंगलबार र शुक्रबार डायलोसिसका लागि लैजाने गरेका थियो । मंगलबार र शुक्रबार निःशुल्क हुन्थ्यो भने आइतबार करिब तीन हजार खर्च लाग्थ्यो । साथीभाइस“ग मागेर डायलोसिस गराउँदै आएको सुमितले बताए । ‘उपचार खर्चको अभाव देखेरै उसले हामफालेको हुनुपर्छ,’ सुमितले भने, ‘हामीसँग उपचार खर्च भएको भए यस्तो अवस्था आउँदैन थियो होला ।’

साताको एकपटक डायलोसिस गर्दा तीन हजार, काठमाडौंमा भाडामा बस्दा महिनाको सात हजार र त्यति नै खानपानमा खर्च हुँदा ऋण थपिँदै गएको दाजु विनीत खड्काले बताए ।

उपचारमा समस्या भएपछि विजय केही दिनयता तनावमा रहेको र त्यही तनावमा उनले हाफफालेको हुनसक्ने पारिवारिक स्रोतले बतायो । उनको बेडमा फेला परेको सुसाइड नोटमा आफूले हामफालेर आत्महत्या गर्न लागेको उल्लेख छ । तर, अस्पतालको झ्यालमा ग्रिल नहुँदा घटना भएको भन्दै आफन्तले अस्पतालप्रति असन्तुष्टि जनाएका छन् ।

विजयले मंगलबार बिहान करिब एक बजे अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् । ‘म भुइँमा सुतिरेहको थिएँ,’ दाजु सुमितले भने, ‘ब्युँझिएर हेर्दा त ऊ तल भुइँमा मृत अवस्थामा भेटियो ।’

वार्षिक तीन हजारको मिर्गौला फेल
नेपालमा वार्षिक कतिको मिर्गौला फेल हुन्छ भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । तर, कामै नलाग्ने गरी करिब तीन हजारजनाको मिर्गौला फेल हुने गरेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । उनीहरूको मिर्गौला प्रत्यारोपण वा होमोडायलोसिसको विकल्प नभएको श्रेष्ठको भनाइ छ । वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । नेपालमा एक वर्षमा करिब दुई सयजनाको प्रत्यारोपण हुने गरेको डा. श्रेष्ठ बताउँछन् ।

होमोडायलोसिस निःशुल्क
सरकारले मिर्गौला फेल भएका बिरामीका लागि यस वर्षदेखि होमोडायलोसिस सेवा निःशुल्क गरेको छ । यसअघि दु्ई वर्ष (एक सय चारपटक)का लागि मात्र होमोडायलोसिस सेवा निःशुल्क गरेकोमा यस वर्षदेखि आजीवन निःशुल्क गरेको हो ।

मिर्गौला प्रत्यारोपण गर्न चाहानेका लागि पनि सरकारले शल्यक्रिया खर्च दुई लाख सीधै अस्पताललाई उपलब्ध गराउँदै आएको छ । प्रत्यारोपणपछि बिरामीलाई औषधि सेवन गर्न थप एक लाख दिँदै आएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । प्रत्यारोपणपछि बिरामीले पहिलो ६ महिना मासिक २० देखि २५ हजारको औषधि सेवन गर्नुपर्छ भने त्यसपछि नियमित १० देखि १५ हजारको औषधि सेवन गर्नुपर्ने हुन्छ ।

सरकारले विपन्न नागरिक उपचारअन्तर्गत होमोडायलोसिस सेवा दिने अस्पताल र संस्थालाई उपचार खर्च उपलब्ध गराउँदै आएको छ । विपन्न नागरिक उपचारअन्तर्गत सरकारले मिर्गौलासहित अन्य आठ रोगको उपचारका लागि गत वर्ष एक अर्ब २० करोड खर्च गरेको छ

मासिक २० हजार खर्च थपिएको थियो
विनीत खड्का, मृतकका दाजु
हाम्रो घर दोलखाको मालु–४ मा हो । परिवारमा बुबा, आमा, म, मेरो श्रीमती, माइलो भाइ र कान्छो भाइ थियौँ । त्यसमा कान्छो भाइले डेढ वर्षदेखि मिर्गौला फेल भएर शिक्षण अस्पताल महाराजगन्जमा डाइलोसिस गर्दै आएको थियो । परिवारमा बुबा कृषि सामग्री संस्थानमा सामान्य जागिरे हुनुहुन्छ । मैले एक महिनाअघिदेखि जागिर सुरु गरेको हो । हाम्रो आयले खान–लाउन पनि मुस्किलले पुग्थ्यो । कान्छो भाइ विजयको गत वर्ष चैतमा दुवै मिर्गौलाले काम गर्न नसक्ने भएको पत्ता लाग्यो । उसलाई डायलोसिस या मिर्गौला प्रत्यारोपणको विकल्प नभएको चिकित्सकले सल्लाह दिएपछि हामीले वैशाख १ गतेबाट महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरी डायलोसिस सुरु ग-यौँ ।

सामान्य अवस्थामा पनि खान–लाउन मात्र पुग्ने हाम्रो परिवारको आर्थिक अवस्था हो । भाइको मिर्गौलाको उपचार गर्नुपरेपछि आर्थिक समस्या थपिँदै गयो । हप्तामा तीनपटक डायलोसिस गर्नुपर्ने भयो । दुईपटक त सरकारले निःशुल्क गरिदिनेरहेछ । एकपटक भने आफैँ गर्नुपर्ने बाध्यता थियो । एकपटक होमोडायलोसिस गर्दा तीन हजार रुपैयाँ खर्च हुँदै आएको थियो । त्यसमा थप काठमाडौंमा महिनाको सात हजार कोठाभाडा र त्यति नै खानपानमा खर्च गर्नुपर्दा महिनाको करिब २० हजारभन्दा बढी खर्च हुन थालेको थियो । हाम्रो परिवारको आयस्रोतभन्दा त्यो खर्च बढी भएका कारण दिनप्रतिदिन ऋण थपिँदै गएको थियो । त्यो कुरा भाइलाई पनि जानकारी थियो । यति हुँदाहुँदै पनि हामी भाइको उपचार जसरी पनि गराउने तयारीमा थियौँ । हामीले मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी गर्दै थियौँ ।

आमाले मिर्गौला दिने पक्कापक्की भएको थियो । उसैको स्वास्थ्य अवस्थाले गर्दा चाँडै प्रत्यारोपण गर्न पाइएको थिएन । कलेजोमा केही संक्रमण देखिएको थियो । प्रत्यारोपण गर्न आमाको पनि विभिन्न अंगको स्वास्थ्य जाँच गर्नुपर्ने हुँदोरहेछ, त्यसका लागि पनि धेरै खर्च हुने रहेछ । तत्काल त्यति पैसा नभएका कारण हुन सकेको थिएन, पैसा खोजेर गर्ने तर्खरमा थियौँ । प्रत्यारोपणका लागि कति पैसा लाग्छ भनेर हामीले चिकित्सकहरूलाई नसोधे पनि नेपालमा पाँच लाख र भारतमा लैजानुपरे २१ लाखभन्दा बढी लाग्छ रे भन्ने अरूबाट सुनेका थियौँ । सायद यही कुराले पनि भाइमा पछिल्ला केही हप्तादेखि परिवर्तन देखिन थालेको थियो । दुई–तीन दिनअघि डायलोसिस गर्न राखिएको घाँटीको जुब्लर हटाइदिनु भन्दै आएको थियो । आमालाई भो अब उपचार नगरौँ घर जाउँ भनेर तीन–चार दिनदेखि भन्दै आएको रहेछ, अस्ति मलाई पनि भन्यो । सायद उसलाई खर्च धेरै भएको आभास भयोजस्तो लग्छ । हामीले उसलाई हरप्रयास गरेर उपचार गर्ने प्रयत्न गरेका थियौँ । तर, उसले साथ दिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !