१५ असार २०८१, शनिबार

गाउँविकास र समाज सेवामा बाबियाचौरका महिला


Nepalpatra

२४ फागुन, गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरका महिला समाज सेवा र गाउँ निर्माणमा जुटेका छन् । मालिका जागरण महिला समूह सहश्रधारा बाबियाचौरका महिला आफ्नो गाउँलाई आफैँ बनाउने अभियानमा जुटेका हुन् । ‘‘अर्काको मुख ताक्नुभन्दा आफ्ना लागि त आफैँ गर्नुपर्छ भन्ने लागेर सबै महिला एकजुट भई आमा समूह गठन गरेका छौँ’’ समूहकी अध्यक्ष इन्दु केसीले भन्नुभयो ।

विसं २०६३ मा स्थापना भएको सो आमा समूहले विकास निर्माणका कार्यका साथै सस्तो ब्याजदरमा ऋण लगानीसमेत गरेको छ । मासिक १० रुपैयाँका दरले पैसा उठाउँछौँ अनि विवाह, व्रतबन्ध हुँदा र गाउँमा लाहुरे आउँदा पनि गीत नाच देखाएर त्यसबाट उठेको पैसा विकास निर्माणमा खर्च गर्न सकेको अध्यक्ष केसीले बताउनुभयो । २१ सदस्य रहेको आमा समूहले गाउँमा सजिलो होस् भनेर विवाह व्रतबन्धका लागि चाहिने भाँडाकुँडा, पाललगायतका सामग्रीसमेत किनेको छ ।

केसीले भन्नुभयो, “हामीले स्वदैशमै लगानी गर्छौं भनरे भन्नेलाई पनि सस्तो ब्याजदरमा ऋण दिन्छौँ, विदेश जानेलाई समेत सस्तो ब्याजदरमा ऋण दिने गरेका छौँ ।”

समूहमा धेरै पैसा सङ्कलन त भएको छैन तर पैसा नै नभए पनि हरेक काममा हामी सबै महिला सदस्य सहभागी हुन्छौँ र सबै एकजुट भएर लाग्छौँ भन्नुभयो । महिलाले गाउँमा हुने विकास निर्माणका काममा समेत नेतृत्व लिने गरेका छन् । खानेपानी, बाटोमर्मत, सामुदायिक वन, आमा समूहको भवनलगायत गाउँमा हुने भौतिक निर्माणका काममा पनि उनीहरुको नेतृत्वदायी भूमिका रहने गरेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

“यहाँका महिला सामाजिक रुपान्तरणका लागि स–साना कामबाट नै लागेका छन्”, अध्यक्ष रोकाले भन्नुभयो, “महिला जागरुक हँुदा समाजमा विकास निर्माणका काम छिटो र छरितो हँुदा रहेछन् भने अनियमितताको डर पनि नहुने रहेछ ।”

सरकारी भवन निर्माणका लागि जग्गा

म्याग्दीको मालिका गाउँपालिकामा सरकारी कार्यालयको निर्माणका लािग ५३ रोपनी जग्गाको व्यवस्थापन भएको छ । गाउँपालिकाको केन्द्र दरबाङ गाउँपालिकालगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि छ्यारछ्यारेमा रहेको ५३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउन स्थानीय समहत भएपछि जग्गाको व्यवस्थापन भएको हो ।

गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको आम भेलामार्फत दरबाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा व्यवस्थापनका लागि स्थानीयस्तरमा सहमति जुटेको हो । समुदायस्तरबाट जुटेको सहमति कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रक्रिया अघि बढाइने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

जग्गा व्यवस्थापनका लागि जुटेको सहमति गाउँपालिका र दरबाङका लागि महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष रोका मगरले बताउनुभयो । सबै स्थानीय सरकारको कार्यालय व्यवस्थापनका लागि जग्गा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण र समन्वय गरी सहज वातावरण निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

स्थानीयस्तरमा जुटेको सहमतिअनुसार छ्यारछ्यारेमा गाउँपालिकाको साथै इलाका प्रहरी कार्यालय, खेल मैदान, अस्पताल र बसपार्क समेत निर्माण गरिने अध्यक्ष रोकाले जानकारी दिनुभयो । भेलामा प्रजिअ लीलाधर अधिकारी, मालपोत अधिकृत मुकुन्द पौडेल, डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटा, प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनी, नापी कार्यालय प्रतिनिधिका साथै स्थानीयवासी, अगुवा र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

परिवारले पाए क्षतिपूर्ति

वैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका पूर्णबहादुर सार्कीको परिवारलाई कतार सरकारले कतारी रियल दुई लाख अर्थात् नेपाली रु ६१ लाख ८० हजार क्षतिपूर्ति दिएको छ ।

पाँच वर्षअघि डिर्पोटसन सेन्टर (घर फिर्ती केन्द्र) मा भएको आगलागीमा परी मृत्यु भएका सार्कीको परिवारलाई कतार सरकारले पाँच वर्षपछि क्षतिपूर्ति उपलब्ध गराएको म्याग्दी प्रवासी सङ्घ (मोना) कतारका महासचिव राजु पौडेलले बताउनुभयो । उहाँका अनुसार मृतक सार्कीको क्षतिपूर्तिका लागि कानूनी प्रक्रिया पूरा गर्नका लागि स्व सार्कीकी भाइबुहारी शान्ति सार्की कतार पुग्नुभएको थियो । कतार सरकारको आन्तरिक मामिला मन्त्रालयले क्षतिपूर्ति रकम हस्तान्तरण गरेको थियो ।

क्षतिपूर्ति प्राप्त भएपछि स्व सार्कीका छोराछोरीको लालनपालन र शिक्षादीक्षामा सहज भएको बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलका अनुसार सो रकम बैंङ्किङ प्रणालीमार्फत स्व सार्कीका छोराछोरीको भविष्यका लागि प्रयोग गरिनेछ । मृतक सार्कीका दुई छोराछोरी छन् भने उनकी श्रीमतीले दोस्रो विवाह गरेकी छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !