१२ बैशाख २०८१, बुधबार

चन्द्रमामा पाइला टेकेका बज एल्ड्रिन लुम्बिनीमा


Bazzz Ardrin in nepal

चन्द्रमामा दोस्रोपटक पाइला टेकेका अमेरिकी नागरिक बज एल्ड्रिन आइतबार राति १० बजेर ३० मिनेटमा काठमाडौं आइपुगेका हुन्। फ्लाइट दुबईको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएका एल्ड्रिनलाई एभरेष्ट साइन्स सेन्टरका सञ्चालक युवा वैज्ञानिक दिलीप अधिकारीले स्वागत गरे।

राति काठमाडौंस्थित याक एण्ड यति होटलमा विश्राम गरेका एल्ड्रिन सोमबार बिहान लुम्बिनी पुगेका छन्। एल्ड्रिनसँगै रहेका अधिकारीका अनुसार लुम्बिनीको भ्रमणपछि उनी फेरि काठमाडौं नै फर्किनेछन्। ‘बिहानै भैरहवा एयरपोर्ट हुँदै एल्ड्रिनसहितको टिम लुम्बिनी आइपुगेको छ,’ अधिकारीले भने, ‘लुम्बिनीको भ्रमणपछि हामी सिधै काठमाण्डौं फर्किनेछौं।’

एल्ड्रिनसँगै उनका छोरा डाक्टर एन्डी, बुहारी, इन्टरप्राइजेजका मैनेजर, नासा हाउसटन अमेरिकाका अध्यक्ष एलिजावेथ लेवलन्स र वैज्ञानिक जोसेफ लेवलन्स पनि नेपाल आएका हुन्। अधिकारीका अनुसार एल्ड्रिनका छोरा एन्डी मंगलग्रहमा भविष्यमा बस्ती बसाउने कार्यक्रमका अध्यक्ष पनि हुन्। वैज्ञानिक जोसेफ मंगलग्रहमा ओरिएन नामक रोकेट पठाउने तयारी गरिरहेका छन्।

एल्ड्रिन मंगलबार बिहान विराटनगर आइपुग्नेछन्। सुनसरीको सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टरमा उनी चन्द्रमामा पुगेका अनुभव र आफ्नो भोगाइ बारे २ घण्टा प्रवचन दिनेछन्। मंगलबार साँझ नै एल्ड्रिन काठमाडौं फर्किनेछन्।

को हुन् एल्ड्रिन
२० जनवरी १९३० मा जन्मिएका एल्ड्रिन अमेरिकी यान्त्रिक इञ्जिनियर हुन्। उनी संयुक्त राज्य अमेरिकाको एयर फोर्सबाट सेवानिवृत पाइलट हुन्। उनी अपोलो-११ ल्युनर मोडयूल पाइलट थिए। यो अन्तरिक्ष यात्राको इतिहासको पहिलो विमान थियो, जुन मानवसहित चन्द्रमामा पाइला टेकेको थियो। एल्ड्रिन चन्द्रमामा पाइला टेकेका दोस्रो व्यक्ति हुन्। उनीभन्दा अघि मिशनका कमान्डर नील आर्मस्टांङले चन्द्रमामा पाइला टेकेका थिए।

अपोलो-११ मिशनअन्तर्गत अमेरिकी अन्तरिक्ष यानले १६ जुलाई १९६९ मा फलोरिडाबाट चन्द्रमाका लागि उडान भरेको थियो। जसमा तीनजना मिशनका कमान्डर नील आर्मस्टाङ, मोडयूल पायलट माइकल कोलिन्स र लूनर माडयुल पायलट एल्ड्रिन चढेका थिए। आर्मस्टाङ र एल्ड्रिन चन्द्रमाको सतहमा उत्रिए भने कोलिन्स रकेटबाटै चन्द्रमाको कक्षको चक्कर लगाइरहे। उनीहरुले चन्द्रमा लगेको इगल नामको यान २१ घण्टा ३१ मिनेट चन्द्रमाको सतहमा रहिरहयो। इगल नामक यानको पायलट थिए, एल्ड्रिन।

आर्मस्टाङ चन्द्रमा सतहमा उत्रिएपनि एल्ड्रिन भने यानमै ‘स्टैण्डवाई’ बसिरहे। ६ घण्टा जति आर्मस्टाङ चन्द्रमाको चक्कर लगाएपछि एल्ड्रिन यानबाट उत्रिएका थिए। आर्मस्टाङ र एल्ड्रिनले चन्द्रमाबाट धुलो, पाउडर र चट्टान २१ किलो ५ सय ग्राम संकलन गरेर पृथ्वीमा ल्याए। उनीहरूले चन्द्रमाबाट ल्याएको त्यही चट्टान एल्ड्रिनले प्रवचन दिने एभरेष्ट साइन्स सेन्टरमा ४ वर्षअघि प्रदर्शन गरिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !