७ आश्विन २०८१, सोमबार

देशकै नमूना अभियान हनुमन्ते


Nepalpatra

१ फागुन, काठमाडौँ । हनुमन्ते नदी सफाइ मूल समारोह समितिले अहिलेसम्म ७२ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । वाग्मतीको सहायक नदीको रुपमा बग्ने उक्त नदी सफाइ अभियानको ५१औँ हप्ताको सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले स्थानीयको श्रम र लगानीमा अभियानले देशकै नमूना सफाइ अभियानको रूपमा परिचित बन्न सफल भएको बताउनुभयो ।

उहाँले अब सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर र सवारी चापमुक्त भक्तपुर बनाउन आफूले प्राथमिकता दिएकोे बताउनुभयो ।

सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले अभियानअन्तर्गत अरनिको राजमार्ग तथा त्यस आसपासका सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँटोल सफाइ गर्दै आएको बताउनुभयो । ‘उठौँ, जागौँ, हनुमन्ते नदी सफा गर्न लागौँ’ भन्ने मूल नारासहित शुरु भएको उक्त अभियान यही फागुन ४ गते ५१ हप्तामा प्रवेश गर्दैछ ।

चिनीको चोरी पैठारी नियन्त्रण गर्न माग

नेपाल चिनी उद्योग सङ्घले अवैधरुपमा विदेशबाट भइरहेको चिनीको चोरी पैठारी नियन्त्रण गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष शशीकान्त अग्रवालले चोरी पैठारीले गर्दा स्वदेशमा उत्पादित चिनीले स्वस्थ्य प्रतिस्पर्धा गर्न नसक्ने हुँदा त्यसको आयातमा समेत कडाइ गर्न आग्रह गर्नुभयो ।

चिनी उद्योगले वस्तु बिक्रीपछि कृषकको भुक्तानीलाई निरन्तरता दिइरहेको जानकारी दिँदै उहाँले हाल कायम रहेको चिनीको परिमाणात्मक आयातलाई सरकारले यथावत राख्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव राजेशकुमार केडियाले सरकारले कृषकलाई दिने अनुदान रकम रु दुई अर्ब ५० करोडमध्ये रु ८० करोड उपलब्ध गराउन बाँकी रहेको बताउनुभयो ।

स्वदेशमा दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेको भए पनि एक लाख ७८ हजार मेट्रिक टन उत्पादन भएको तथा नपुग परिमाण अन्य मुलुकबाट आयात हुने गरेको जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !