१५ असार २०८१, शनिबार

धर्म र पर्यटनलाई जोड्दै रामकोट धाम


Nepalpatra

१४ माघ, पोखरा । बागलुङ जिल्लास्थित काठेखोला गाउँपालिका–५ बिहुँकोटमा अवस्थित रामकोट धाम जिल्लाकै प्रसिद्ध तीर्थस्थल मध्येको एक हो ।

स्वामी श्री १००८ परमान्नद सरस्वती महराजले तपस्या र ज्ञान हासिल गरेपछि विसं २०२९ मा सामान्य मन्दिर बनाउनुभएको थियो । सोही स्थानमा २०३३ सालमा त्रिपुरेश्वर महादेव मन्दिरका रूपमा अर्को मन्दिर निर्माण गरिएको थियो ।

रामकोट धामका रूपमा परिचित उक्त स्थानमा विसं २०६६मा धान्याञ्चल महायज्ञ गरी नयाँ स्वरूपमा भव्य मन्दिर निर्माण गरिएको छ । मन्दिरमा स्वामी हरिहरानन्द स्वामीले नियमित पूजाआजा गर्दै आउनुभएको छ । उक्त परिसरमा परमानन्द सन्न्यास आश्रम पनि सञ्चालनमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर सन्न्यास आश्रम व्यवस्थापन समितिका सचिव हरिप्रसाद कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिर तथा आश्रम क्षेत्रको करीब १४२ रोपनी जग्गा क्षेत्रफलभित्र आठ कोठाको परम सत्यसाधक निवासका साथै आठ कोठाको अतिथि निवास रहेको छ ।

परिसरमा नै अर्को एउटा हलसहित, दुई कोठा र माथिल्लो तल्लामा चारवटा कोठा सहितको अतिथि निवास निर्माणको तयारी भइरहेको सचिव कँडेलले जानकारी दिनुभयो ।

निर्माणाधीन भवनमा एउटा कोठा निर्माणका लागि बिहुँकोट समाज जापानका तर्फबाट रु १० लाख सहयोग प्राप्त भइसकेको छ । आवास निर्माणसँगै देवघाटबाट बटुक ल्याएर यहीँ अध्ययन गराउने गरी तयारी भइरहेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङबाट करीब २२ किलोमिटर बुर्तिबाङ जाने मार्गमा पर्ने बिहँु देउरालीबाट करीब १० मिनेटको हिँडाइपछि रामकोट धाम पुग्न सकिन्छ ।

लालीगुराँस सहितको रमणीय जङ्गलले घेरिएको यस धाम वरपर मृग, हरिण, खरायो चितुवा जस्ता वन्यजन्तु पाइन्छन् भने विभिन्न प्रजातिका चराचुरुङ्गी समेतले यहाँको वातावरण रमणीय बनाएको छ । विभिन्न वनस्पतिका साथै जडीबुटी समेत यहाँ पाइन्छ ।

धाममा रहेको आश्रममा साधुसन्त बस्ने गरेका छन् भने यहाँस्थित गायत्री कुटीमा नियमित हवन यज्ञ हुने गरेको छ । स्वामी परमानन्द सरस्वतीले तपस्या साधना सम्पन्न गरेको स्मरणमा प्रत्येक वर्ष ज्येष्ठ ११ गते धाममा रथयात्रा हुने गरेको छ । रथयात्रा हुने मेलालाई यस क्षेत्रकै चर्चित मेलाको रूपमा लिइन्छ । मेलामा सरिक भई रथ बोकेमा सम्पूर्ण पाप नष्ट हुने जनविश्वासका आधारमा बागलुङका विभिन्न स्थानबाट उक्त दिन सर्वसाधारण आउने गरेका छन् ।

रामकोट धाम यहाँको महत्वपूर्ण तीर्थस्थल भएका कारण यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको स्थानीय समाजसेवी एवं गाउँपालिकाका कार्यपालिका सदस्य हेमलाल विकले बताउनुभयो ।

“रामकोट धाम यहाँको धार्मिक महत्व एवं जनविश्वासयुक्त स्थल हो,” उहाँले भन्नुभयो, “यसको प्रचारप्रसार गर्दै यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।”

रामकोट धाममा प्रत्येक वर्षको महाशिवरात्रिमा विशेष मेला लाग्ने र प्रत्येक साउन महीनाको सोमबार अत्याधिक दर्शनार्थीको भीड लाग्ने गरेको स्थानीयवासी बताउँछन् । यहाँस्थित रामकोट धाम, शिवधुरी लगायतका धार्मिकस्थलको ऐतिहासिकता र महत्वसमेतलाई समेट्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउने सोचका साथ घरबास कार्यक्रम पनि शुरु गरिएको शिवधुरी सामुदायिक होमस्टेका उपाध्यक्ष ध्रुवबहादुर कँडेलले बताउनुभयो ।

पहिलो चरणमा यहाँका ११ घरमा घरबास कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै उहाँले प्रत्येक घरमा चार जनासम्म पर्यटक राख्नसक्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

“धार्मिक महत्वको भएर पनि रामकोट धाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ,” उहाँले भन्नुभयो, “यसको प्रवद्र्धन र विकासका लागि सरकारीस्तरबाटै पहल हुनुपर्ने देखिएको छ ।”

रामकोट धामको प्रचारप्रसार र विकाससँगै यस क्षेत्रले धर्म र पर्यटनलाई सँगसँगै जोड्ने विश्वास लिइएको उहाँको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !