१ माघ, घोराही । घोराही उपमहानगरपालिका–६ लरैनास्थित बराह धाममा पूर्वाधार अभाव रहेको छ । प्रचार प्रसारको अभावमा समेत उक्त धाम ओझेलमा परेको छ ।
स्थानीयवासी ८७ वर्षीया दानबहादुर डाँगीअनुसार करीब १०० वर्षदेखि त्यहाँ माघे सङ्क्रातिमा ठूलो मेला लाग्छ । त्यहाँ दाङ बाहेक बाँके, बर्दिया, सल्यान, रोल्पा, रुकुमलगायत जिल्लाबाट भक्तजन मेला भर्न आउने गरेका छन् । किम्वदन्तीअनुसार बराहका १२ भाइमध्ये लरैनाको वासुदेव स्थानका बराह कान्छा भाइ हुन् । माघे सङ्क्रातिको दिन भक्तजन त्यहाँस्थित सानो तालमा नुहाउने गर्छन् । नुहाएपछि पोखरीबाट ढुङ्गा निकालेर मन्दिरमा चढाउने र आफूले चाहेको वर माग्ने गर्छन् ।
“अधिकांश भक्तजन सन्तान प्राप्तिका लागि पूजा गर्न आउँछन्,” पुजारी बलबहादुर चौधरीले भन्नुभयो । उहाँ १८ वर्षदेखि पुजारीको काम गर्दै आउनुभएको छ । पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा पछाडि परेको चौधरी गुनासो गर्नुहुन्छ । विसं २०४५ मा दह नजिकै मन्दिर निर्मण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो । “मन्दिर बन्नु अगाडि त्यहाँ बराहको शालिक मात्रै थियो,” उहाँले भन्नुभयो ।
एक बिघा १४ कठ्ठा जग्गामा फैलिएको उक्त क्षेत्रमा थोरै मात्रामा पूर्वाधार निर्माण गरिएको छ । स्थानीयवासी धनबहादुर डागीले हाल रु छ लाख खर्च गरेर भगवतीको मन्दिर बनाउँदै हुनुहुन्छ । घोराही–१५ का हरिवंश दाहाल र चित्राङ्गत दाहालले वरपीपलको रुख वरिपरि प्रतिक्षालय निर्माण गर्नुभएको छ । साविकको ढिकपुर गाविस र त्रिपुर नगरपालिकाले एक÷एक प्रतिक्षालय बनाएका छन् । “भौतिक पूर्वाधार निर्माण गर्न बाँकी छ,” अध्यक्ष दाहालले भन्नुभयो ।