१३ जेष्ठ २०८१, आइतबार

योगको पुनर्जागरण गर्दै शिक्षा मन्त्रालय


educationministry

१५ पुस, काठमाडौँ । हिमालयको काखमा विकास भएको योग आधुनिकताले लोप हुँदै गएकामा सरकारले राष्ट्रिय दिवस घोषणा गरी मनाउन थालेपछि पुनर्जागरण शुरु भएको छ ।

वैदिककालमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालबाट विश्वभर फैलिएको थियो । लोप भएको ज्ञान यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यता प्राप्त हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली पुनः योग जगाउन थालेका छन् । युरोप र अमेरिकामा उपचार एवं सुख–शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीको आकर्षण पनि योगतिर बढेको हो ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा ‘योग सबैका लागि सधैँका लागि’ आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभयो । जसलाई युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

“योगको शुरुआत शिव र पार्वतीको संवादबाट शुरु भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ,” योग दिवसका अभियानकर्मी डा पोखरेलले भन्नुभयो ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिककालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधुसन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ । “जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरूपमा अघि बढ्ने माध्यम योग हो । यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्,” डा पोखरेलले भन्नुभयो ।

योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उहाँले बताउनुभयो । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन शुरु भएको छ ।

नेपालभर योग सिकाउने ६०० भन्दा बढी संस्था छन् । यी संस्थामा योग अभ्यास गर्न आउने प्रायः विदेशी छन् । नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचार प्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । नेपालमा योग शिक्षा लिई विदेश गएका जनशक्तिले मासिक रु एक लाखदेखि चार लाखसम्म प्रशिक्षण दिएरै कमाइरहेका छन् । विदेशमा श्रमिक निर्यात गर्नुभन्दा यस्ता विषयमा दक्ष बनाएर पठाउन सके नेपालको विश्वव्यापी पहिचान हुने डा पोखरेल बताउनुहुन्छ ।

चौथो योग दिवस भव्य रूपमा मनाइने

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चौथो राष्ट्रिय योग दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा योग, ध्यानलगायत साधनाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा मन्त्री पोखरेलले योगका क्षेत्रमा काम गर्ने जनशक्तिको अभिलेखीकरण गर्न लागिएको जानकारी दिनुभयो । यस वर्ष सात प्रदेशमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र ७७ जिल्लामा जिल्ला समन्वय समितिमार्फत् दिवस मनाउन निर्देश गरिने उहाँले सुनाउनुभयो ।

“यस वर्ष स्थानीय तहलाई पनि योग दिवस मनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देश गर्ने तयारी भएको छ, ७५३ स्थानीय तहमा दिवसका कार्यक्रम मनाउन थालेपछि देशभर पुनर्जागरण हुनेछ,” मन्त्री पोखरेलले भन्नुभयो ।

कार्यक्रममा नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा, मन्त्रालयका सचिव खगराज बराल, डा चिन्तामणि योगी, गायत्री समूहका डा राजु अधिकारी, जिल्ला योग समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवाल लगायतले योग दिवस माघ १ गते मात्र नभई वर्षभर विशेष कार्यक्रमका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यस दिन बिहान प्रभातफेरी, दिउँसो योग, ध्यान साधनाका विषयमा अन्तरक्रिया गरी मनाइने मन्त्रालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !