१३ बैशाख २०८१, बिहिबार

सैनिक क्याम्पभित्रै हवल्दारको रहस्यमय मृत्यु


बिहीबार आत्महत्या गरेका भनिएका सैनिक हवल्दार दीपकबहादुर खड्काको शव शुक्रबार मात्रै पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी ल्याइयो ।

शवको सुरक्षाका लागि प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहसहित १५/२० जना प्रहरी खटिएका थिए । मेजर सुमन विष्टको नेतृत्वमा ८/१० जना सैनिक पनि अस्पतालमा उपस्थित थिए ।
डाक्टरद्वय घनश्याम भट्ट र गिरिश अवस्थीले पोष्टमार्टम गरे । मृतकका आफन्तलाई शव हेर्न दिइए पनि पत्रकारलाई दिइएन ।

आफन्तका अनुसार खड्काको बाँया कानबाट लागेको गोली दायाँ कानबाट गोली निस्किएको छ । सेनाले भने खड्काले आफै गोली हानेर आत्महत्या गरेको भनेको छ ।
खड्काको पुट्ठामा पनि ठूलठूला निलडाम देखिएको आफन्त बताउँछन् ।

‘टाउकोमा हानेको गोलीको निसाना हेर्दा त्यो ऊ आफैंले पनि हानेको हुनसक्छ,’ मृतकका दाजु राजबहादुर खड्काले भने, ‘तर, पछाडि पुट्ठामा निकै ठूला निलछन् । ती लठीले कयौपटक हान्दा भएका डाम हुन् ।’ उनका अनुसार आत्महत्या भए पनि यातना सहन नसकेर गरेको हुनसक्छ । आजको नागरिक दैनिकमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !