आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि भन्दै आज ब्राम्हण पुरोहितको हात बाट नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ । तागाधारीेहरुले भने जनै फेर्ने चलन छ ।
नयाँ जनै लगाउने तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धती सहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । आज पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देविघाट लगायतका धार्मिक क्षेत्रमा ठूलो मेला लाग्ने गर्छ ।
तराई क्षेत्रमा भने दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायू तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ । राखी बांध्ने चलन हिजोआज पहाडी क्षेत्रमा पनि प्रसिद्ध छ । यस्तै नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।
आज मास, भटमास, ठूलो केराउ, सानो केराउ, मुङ, चना, सिमी, गुराँस र बोडी गरी नौ थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीको काम सकिने तथा बर्षाको हिलोपानीमा चलेर गर्मी सर्दीले प्रभावित शरीरमा फेरि उर्जा ल्याउन टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने चलन बसेको हो ।
जनैपूर्णिमाको समयमा धेरैको घरमा विभिन्न खालका गेडागुडीको क्वाँटी पाक्ने गर्छ। चना, मटर, मस्याङ, मुगी, बोडी, मास, भटमास, केराउ, सिमी लागायतका गेडागुडी भिजाएर त्यसलाई पकाएर क्वाँटी बनाउने गरिन्छ।
यस्ता गेडागुडीको मिश्रण तयार गर्नुअघि टुसा उम्रिने गरी भिजाउने गरिन्छ। निश्चित समय भिजाएर तयार गरिने क्वाँटी सन्तुलित मात्रामा खाए स्वास्थ्यलाई राम्रो गर्ने चिकित्सकहरु बताउँछन्।