११ श्रावण २०८१, शुक्रबार

अरनिको राजमार्गमा ११ टन फोहर सङ्कलन


Nepalpatra

८ मङ्सिर, काठमाडौँ । स्वच्छ, सफा, सुन्दर, हराभरा, लागुऔषध तथा दुव्र्यसनी न्यूनीकरण गर्ने उद्देश्यका साथ थालिएको अरनिको राजमार्ग सफाइ अभियानमा आज ११ टन फोहर सङ्कलन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा आज भएको उक्त अभियान जिल्लाको मध्यपुरथिमि नगरपालिकाअन्तर्गत कौशलटारदेखि गठ्ठाघरसम्मको सो राजमार्ग सफाइ गरिएको हो । अभियानमा करीब ३७५ जनाको सहभागिता रहेको थियो । जसमा विभिन्न सरकारी सङ्घसंस्था, गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

एक महीनासम्म नियमितरूपमा सञ्चालन गरिने उक्त अभियानले भक्तपुरलाई समृद्ध बनाउने एउटा महत्वपूर्ण कदमको रुपमा लिइने बताइएको छ । त्यस्तै हनुमन्ते नदीको ३९औँ हप्ताको अभियानसमेत सोही अरनिको राजमार्ग सफाइ अभियानसँगैै संयुक्तरूपमा सञ्चालन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्वास्थ्यमाथि खेलवाड हुन नहुने उल्लेख गर्दै आगामी दिनमा फोहर गर्नेलाई हिरासतमा राख्ने चेतावनीसमेत दिनुभएको छ । उहाँले भक्तपुरको यो अभियान देशलाई नै एक मार्गदर्शकको रुपमा रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्वच्छ, सुन्दर वातावरणको निर्माण गर्दै समृद्ध भक्तपुर निर्माणका लागि अभियान शुरु भएको र आगामी दिनमा निरन्तर रूपमा रहने बताउनुभयो । उहाँले आगामी दिनमा फोहर फालेको प्रमाणित भए कानूनअनुसार कारवाही गर्न प्रशासन अहोरात्र लागिपर्ने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !