११ पुस २०८१, बिहीबार

बौद्धिक अपाङ्गता भएकालाई सहयोग


moneyy

२७ कात्तिक, उदयपुर । उदयपुुर जिल्लाको त्रियुगा नगरपालिका–७ चुहाडेका बिल्टु दनुवारका चारजना बौद्धिक अपाङ्गता भएका छोरालाई काठमाडौंको कलङ्की निवासी समाजसेवी वासु केसीले निरन्तररुपमा आठ वर्षदेखि खान लाउनको लागि मासिक रु १० हजार आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

यसपटक पनि केसीले सोमबार काठमाडौँबाट सपरिवारसहित त्रियुगा नगरपालिकाको चुहाडे आएर अपाङ्गता भएको दनुवार परिवारको लागि मासिक रु १० हजारको दरले एक वर्षको एकमुष्ट आर्थिक रकम सहयोग गर्नुभएको छ ।

सोमबार समाजसेवी केसीले जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परिवारसहित जिल्लाका केही पत्रकार तथा सञ्चारकर्मीको उपस्थितिमा दनुवार परिवारको लागि एकमुष्ट आर्थिक सहयोग गर्नुभएको जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले बताउनुभयो ।

अध्यक्ष परियारले भन्नुभयो, “केसी आफैं पनि रोगबाट पीडित हुनुहुँदो रहेछ, तर ठूलो छाती गरेका जीउँदो गौतमबुद्ध जस्तो महान् हुनुहुँदो रहेछ, आफू रोगले पीडित भएर पनि आठ वर्षदेखि दनुवार परिवारलाई निरन्तर आर्थिक सहयोग गर्नुभएको छ । यस वर्ष पनि गर्नुभयो ।”

केसीजस्तो महान् मानवीय गुण रहेको बाबु आफूले पनि पाएकाले गर्दा आठ वर्षदेखि केसीको आर्थिक सहयोगले आफूले चार अपाङ्ग भएका छोरालाई खान लाउन दिने र पाल्न सफल भएको स्वयम् बिल्टु दनुवारले बताउनुभयो । बिल्टुका चार छोरा भरत दनुवार, प्रमोद दनुवार, जयराम दनुवार र जयश्री दनुवार बीस वर्षभन्दा माथि र २६ वर्षभन्दा मुनिका उमेरका रहेका छन् ।

बौद्धिक अपाङ्गता भएको कारण चारलाई छुटाछुट्टै कोठामा थुनेर राख्नु परेको र दिनमा दिसापिसाब गराउन बाहिर निकाल्नेबाहेक खानासमेत कोठामा नै लगेर दिनु परेको बिल्टु बताउनुहुन्छ । घरको आर्थिक अवस्था पनि कमजोर रहेको र चार छोरा सबै बौद्धिक अपाङ्ग भएपछि केसीले गरेको आर्थिक सहयोगले नै दनुवार परवार बाँच्न सफल भएका बिल्टु बताउँछन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !