१२ असार २०८१, बुधबार

शहरी विकास तथा भवन कार्यालयको स्थापना


gandaki

१८ कात्तिक, बागलुङ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा रहने गरी बागलुङमा आज शहरी विकास तथा भवन कार्यालयको स्थापना गरिएको छ । कार्यालयको बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले एक कार्यक्रमबीच स्थापना गर्नुभएको छ ।

खरेलले प्रदेश मातहतमा रहेर यस कार्यालयले आफ्नो कार्यक्षेत्रका काम कुशलतापूर्वक सम्पादन गर्नका लागि आग्रह गर्नुभएको हो । “जिल्लाको आर्थिक विकास र समृद्धिका लागि कार्यालयले गहन भूमिका निर्माण गर्नेछ”, खरेलले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनको पाटोलाई कार्यालयले सहज बनाउनेछ ।”

गण्डकी प्रदेशका तीन वटा जिल्लामा शहरी विकास तथा भवन कार्यालयको स्थापना गरिएको छ । बागलुङ, गोरखा र कास्कीमा यसको कार्यालय स्थापना भएको कार्यालयका सिनियर डिभिजन इञ्जीनियर सचेन्द्रकुमार देवले बताउनुभयो । “हामीले साविकको शहरी विकास तथा भवन निर्माण डिभिजनको कामलाई नै निरन्तरता दिन्छौँ”, देवले भन्नुभयो, “केही हेरफेर भए पनि बाँकी सबै पुरानै काम हो ।”

कार्यालयको नयाँ काम भनेको प्रदेश सरकारले स्थानीय निकायसँग मिलेर गर्ने सहलगानीमा निर्माण हुने काम मात्र भएको कार्यालयले जनाएको छ । यस क्षेत्रमा निर्माण हुने स्वास्थ्य संस्थाका भवन तथा जनता आवास गृह निर्माणका कार्यलाई समेत हेर्दै आएको थियो ।

जिल्लाको बुर्तिबाङ बजारमा निर्माणाधीन साना शहरी योजनाको आयोजना पनि यसै कार्यालय मातहत हुने बताइएको छ । गण्डकी प्रदेशमा गोरखामा यसअघि नै स्थापना भएको र कास्कीमा भने स्थापना हुन बाँकी रहेको छ ।

कार्यालयमा सिनियर डिभिजन प्रमुखसहितको १४ जनाको दरबन्दी छ । जसमा तीन जना इञ्जीनियर, तीन जना सवइञ्जीनियर, एक जना लेखापाल, एक जना नायब सुब्बा, एक जना हलुका सवारी चालक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको कार्यालयले जनाएको छ । कार्यालयलाई यस क्षेत्रका तीन जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङ हेर्ने गरी कार्यक्षेत्र तोकिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !