१९ असार २०८१, बुधबार

वारि सुनसान-पारि गुलजार


Nepalpatra

१३ कात्तिक, वीरगञ्ज । हेटौंडा उपमहानगरपालिका–११ बस्ने हरि घिमिरे तिहार तथा छठ पर्वलाई लक्षित गरी किनमेलको लागि सीमावर्ती भारतीय बजार रक्सौल आएका छन् । भारतीय बजारमा कपडालगायत दैनिक उपभोग्यका सामान सस्तोमा पाइने भएकाले हेटौंडाबाट सामान किन्न यहाँ आएको उहाँले राससलाई बताउनुभयो ।

हेटौँडाभन्दा भारतीय बजारमा ३० देखि ४० प्रतिशत सस्तोमा सामान पाउने भएकोले किनमेलको लागि रक्सौल आएको हो, घिमिरेले भन्नुभयो, “यस वर्षको पर्व तिहार खर्चिलो भएकाले सस्तो सामान किन्न भारतीय बजार रक्सौल आएका हौँ ।

स्थानीय नेपाली बजारमा लत्ता, कपडालगायतका दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिएपछि कम आम्दानी भएका नेपाली उपभोक्ताको रोजाइँमा अहिले सीमावर्ती बजार रक्सौल परेको छ । ९० प्रतिशत नेपालीको रोजाइँमा भारतीय बजार रक्सौल परेपछि नेपाली बजार सुनसान देखिन्छ, भने भारतीय बजार गुलजार हुँदै गएको छ ।

सीमावर्ती बजार रक्सौलमा नेपाली उपभोतmाको भीड लाग्न थालेपछि त्यहाँको दैनिक व्यापार रु एक करोडको हाराहारीमा हुने गरेको टेक्सटायल चेम्बर अफ कमर्स कार्यालय रक्सौलले जनाएको छ । नेपाली उपभोक्ताको पहिलो रोजाइँ कपडा हो भने दैनिक खाद्यवस्तु दोस्रो रोजाइँमा पर्दछन्–कमर्सका अध्यक्ष अरुणकुमार गुप्ताले भन्नुभयो, “नेपाली उपभोक्ता नआएको भए भारतीय बजारको व्यापार ओरालो लाग्ने थियो ।”

वीरगञ्जका बजारमा कपडालगायत दैनिक उपभोग्यको सामानमा व्यापारीले कृत्रिम मूल्य सिर्जना गरी महङ्गोमा सामान बेच्ने गरेकाले सस्तो सामान किन्न भारतीय बजार रक्सौल आएको छु, रक्सौलमा भेटिएकी सुधा कर्णले राससलाई भन्नुभयो, “यहाँका व्यापारीले मृदुभाषा बोल्ने तथा व्यवहार राम्रो भएकाले मेरो रोजाइँमा भारतीय बजार रक्सौल परेको छ ।”

रक्सौल बजारमा करीब रु दुई सयको हारहारीमा कपडा पसल छन् भने दैनिक उपभोग्यका सामान बेच्ने किराना पसल ५० जति रहेको छ । ९० प्रतिशत नेपाली उपभोक्ताको कारण यहाँको दैनिक व्यापार रु एक करोडको हाराहारीमा हुने गरेको र नेपाली उपभोक्ता नभएको भए यहाँको व्यापार घाटा उच्च हुने थियो । रक्सौलका व्यापारी श्याम लामाको भनाइ छ ।

पूर्वी चम्पारण जिल्लाअन्तर्गत पर्ने रक्सौल बजारमा हिन्दूको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भारतीय व्यापारीले ग्राहक तान्न असल व्यवहार, मीठो बोली तथा विभिन्न किसिमको स्क्रिम राख्ने गरेकाले पनि नेपाली ग्राहक रक्सौल बजारतर्फ आकर्षित हुने गरेका छन् ।

भारतीय बजार रक्सौलबाट नेपाली उपभोक्ता सामान खरीद गरी नेपाल प्रवेश गर्दा वीरगञ्ज भन्सार क्षेत्रमा रहेका सुरक्षाकर्मी जथाभावी रकम असुल्ने गरेको गुनासो उनीहरुको रहेको छ । नेपालभन्दा भारतमा सस्तोमा सामान पाउने भएकाले हेटौंडा, नारायणघाटलगायत पहाडी जिल्लाबाट उपभोक्ता सामान खरीद गर्न भारतीय बजार जाने गरेकाले नेपाली बजार सुख्न थालेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केडियाको भनाइ छ ।

नेपाली उपभोक्ता अन्य कामको सिलसिलामा रक्सौल बजार जाँदा किनमेल गर्ने भएकाले पनि भारतीय बजार गुलजार हुँदै गएको छ, भने नेपाली बजार ग्राहकको अभावमा सुनसान देखिन्छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !