६ बैशाख २०८१, बिहिबार

मेलमिलाप इजलास स्थापना


Nepalpatra

२२ असोज, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मेलमिलाप इजलास स्थापना गरी न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न थालेको छ ।

स्थानीय तहमा दर्ता भएका मुद्दाको मेलमिलाप पद्धतिबाटै निरूपण गर्न कार्यालयमा मेलमिलाप इजलास स्थापना गरी सेवाग्राहीलाई सेवा दिन थालेको हो ।
न्यायिक समितिकी संयोजक तथा उपप्रमुख रम्भा कुँवरका अनुसार न्यायमा विपन्न समुदायको पहुँच बढाउन र न्यायिक समितिमा परेका मुद्दालाई किनारा लगाउन मेलमिलाप इजलास स्थापना गरिएको छ ।

सबै विवाद र मुद्दाको निकास मेलमिलापबाट सम्भव नभएपछि नगरपालिकाले इजलास नै निर्माण गरेर वादी र प्रतिवादी (दुवै पक्ष) को सुनुवाइ गरिने व्यवस्था मिलाइएको छ ।

नगरपालिकाको न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न इजलासमा बसेर वादी र प्रतिवादीका कुरा सुनेर सकभर मेलमिलापबाटै समस्या समाधान गर्ने प्रमुख दायित्व रहेको न्यायिक समितिकी संयोजक तथा उपप्रमुख कुँवरले बताउनुभयो ।

रामग्राम नगरपालिकामा पछिल्लो एक वर्षमा २० जग्गा र साँध विवादका निवेदन दर्ता भएकामा सबै विवाद मेलमिलापबाट किनारा लगाइएको छ । रामग्राम नगरपालिकाका उजुरी प्रशासक रामजी सहनीका अनुसार अधिकांश मुद्दा लेनदेन, साँध–सिमाना, श्रीमान–श्रीमती र परिवारबीचको झगडा र सार्वजनिक जग्गासम्बन्धी दर्ता हुने गरेका छन् ।

नगरपालिकामा स्थापना भएको इजलासको बनोट र काम गर्ने शैली अदालतको भन्दा कम छैन् । न्यायिक समिति गठन भइसकेपछि रामग्राम नगरपालिकामा समस्या समाधान लागि भनी करीब १०० भन्दा बढी निवेदन परेका छन ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !